काठमाडौँ, वैशाख १४ गते । गोदावरी नगरपालिकाको आयोजनामा वैशाख २० देखि जेठ ३ गतेसम्म उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबल हुने भएको छ ।
उपत्यकामा राम्रा फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्यसहित नगरपालिकाले दोस्रो संस्करणको प्रतियोगिता आयोजना गर्न लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुभयो ।
प्रतियोगितामा भाग लिन उपत्याकाका महानगरपालिका, नगरपालिका र तीन गाउँपालिका गरी २१ वटा स्थानीय तहलाई पत्राचार गरिएको र १० टिमले दर्ता गरिसकेको बताईएको छ । प्रतियोगिताका खेलहरू लिगकम नकआउटका आधारमा हुने छ ।
एक करोड नौ लाख रुपियाँ लगानीमा सञ्चालन हुने प्रतियोगिताको विजेता टिमलाई पाँच लाख र उपविजेतालाई तीन लाख रुपियाँ पुरस्कार प्रदान गरिने छ । यस्तै फेयर प्ले टिमलाई ५० हजार तथा विधागत उत्कृष्टलाई जनही २० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।
प्रत्येक खेलको म्यान अफ दी म्याचलाई पाँच हजार रुपियाँ प्रदान गरिने छ । प्रतियोगितामा भाग लिने खेलाडी सम्बन्धित पालिकाकै हुनुपर्ने नियम छ । प्रतियोगिताको खेलहरू गोदावरी बहुद्देश्यीय रङ्गशालामा हुने छ ।