अविनाश चौधरी
धनगढी, वैशाख १४ गते । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश कमिटी महामन्त्री नरनारायण शाह (मनु) सवार गाडी आइतबार भारतमा दुर्घटना भएको छ ।
परिवारका अन्य सदस्यसहित शाह चढेको गाडी उत्तर प्रदेशस्थित खिरी जिल्लाको खुटारमा गाडी दुर्घटना भएको हो । बससँग ठोक्किँएर शाह चढेको गाडी दुर्घटना भएको जनाइएको छ ।
दुर्घटनामा घाइते शाहको शाहजहाँपुरस्थित अस्पतालमा उपचार भइरहेको नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिनुभयो । शाहजहाँपुरमा तीन जनाको उपचार भइरहेको जनाइएको छ ।
यसैगरी, अन्य तीन जनालाई धनगढीतर्फ ल्याइरहेको जनाइएको छ । दुर्घटनामा घाइते शाहको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
कैलाली प्रहरीले भने दुर्घटनाको बारेमा जानकारी नरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले दुर्घटनाको बारेमा थाहा नभएको बताउनुभयो ।