काठमाडौँ, वैशाख १४ गते । राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्रा. डा.रमेशकान्त अधिकारीेले नियमित खोप समयमै लगाउन आग्रह गर्नुभएको छ ।
डा.अधिकारीले १५ महिनाको उमेरसम्म दिइने नियमित खोपले स्वास्थ्य र पोषण अवस्थालाई राम्रो बनाउने हुँदा छुटेका बालबालिकालाई समयमै खोप लगाउन आग्रह गर्नुभएको हो ।
खोपले बालबालिकामा हुने मृत्युदर घटाएको डा.अधिकारीको भनाइ छ । उहाँ भन्नुहुन्छ, “खोपले ठुला/ठुला रोग लाग्नबाट बचाउनुका साथै स्वास्थ्य र पोषण अवस्थालाई राम्रो राख्न मद्दत गर्छ ।”
खोप लगाएर बालबालिकालाई सुरक्षित राख्न उहाँले आग्रह गर्नुभयो । बालबालिकालाई नियमित खोप सेवाका रुपमा दिनुपर्ने नौ प्रकारका खोपमध्ये कुनै खोप छुटेको भएमा सकेसम्म छिटो पाँच वर्षको उमेरभित्र छुट खोप लगाउन उहाँको अनुरोध छ ।
सरकारले वैशाख ३१ गते देशैभरका सबै स्वास्थ्य संस्थाबाट १५ महिनाको उमेरसम्म दिइने नियमित खोप लगाउन छुटेका खोप पाँच वर्ष मुनिका बालबालिकालाई छुट खोप दिँदै छ ।
१५ महिनामा लगाइने खोप
सरकारले जन्मने वित्तिकै क्षयरोगविरुद्धको बिसिजी खोप दिने गर्छ । त्यसैगरी, जन्मेको छ, १० र १४ हप्तामा रोटा भाइरसबाट हुने झाडापखाला, पोलियो, निमोनिया (न्यूमोकोकल रोग) भ्यागुते रोग, लहरे खोकी, धनुुष्टकार, हेपाटाइटिस बी हेमोफिलस इन्फ्युन्जाबीविरुद्धका रोटा, पोलियो, पिसिभी, डिपिटी खोप, हेप बी हिब खोप लगाउँदै आएको छ ।
नौ महिनामा पोलियो, दादुरा रुबेला निमोनिया (न्युमोकोकल) रोगविरुद्ध एफ आई पि भी, पिसिभी, दादुरा रुबेलाविरुद्धको खोप लगाइन्छ ।
१२ महिनामा जापाजि इन्सेफलाइटिसविरुद्धको खोप लगाइन्छ । १५ महिनामा दादुरा, रुबेला टाइफाइडविरुद्धको खोप लगाइन्छ । यो आर्थिक वर्षदेखि सरकारले कक्षा ६ का छात्रा/विद्यालय नजाने १० वर्षका किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप समावेश गरेको छ ।