• १४ वैशाख २०८२, आइतबार

भेरी अस्पतालको ओपिडी र प्रयोगशाला दुई दिन बन्द

blog

आगलागीबाट क्षति भएको भेरी अस्पतालको मेडिकल स्टोर भित्रको भाग । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, वैशाख १४ गते । नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागीबाट ओपिडी भवन र ल्याबमा प्रयोग हुने विभिन्न केमिकल लगायतमा ठुलो क्षति भएपछि दुई दिनका लागि ओपिडी र ल्याब सेवा बन्द गरिएको छ ।

शनिबार अस्पतालमा भएको आगलागीले ओपिडी भवनमा नोक्सानी पुर्‍याएपछि आइतबार र सोमबारका लागि ओपिडी सेवा र अस्पतालको ल्याब सेवा बन्द गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले बताउनुभयो । उहाँले अस्पताल भवनमा रहेको मेडिकल स्टोरमा भएको आगलागीका कारण मेडिकल स्टोर, फार्मेसी, ओपिडी भवन लगायतका ठाउँमा क्षति हुँदा करिब चार करोडको क्षति भएको जनाउँदै सोही कारणले तत्कालका लागि अस्पतालको बहिरङ्ग सेवा (ओपिडी) सुचारु गर्न नसकिने हुँदा वैशाख १४ र १५ गते ओपिडी तथा ल्याब बन्द रहने बताउनुभयो । 

अस्पताल प्रशासनले आइतबार र सोमबार ओपिडी सेवा तथा ल्याब सेवा बन्द रहने सूचना सार्वजनिक गरे पनि आइतबार भेरी अस्पतालमा चेकजाँचका लागि धेरै जना बिरामी पुगेका थिए । उहाँहरूले आफूहरूले ओपिडी बन्द हुने जानकारी नपाएर अस्पतालमा पुगेको जनाउँदै समस्या भएको गुनासो गरेका थिए । 

आइतबार बिहान अस्पतालको ओपीडी नजिकै भेटिनुभएका बर्दिया मधुवनका जयराम चौधरीले अस्पतालमा आगलागी भएको कुरा सुनेपनि ओपिडी बन्द रहनेबारे आफूले थाहा नपाएर आएको र अहिले समस्यामा परेको बताउनुभयो । चौधरी जस्ता धेरै बिरामी अस्पताल परिसरमा भेटिएका थिए । 

उता, भेरी अस्पताल विकास समितिका अध्यक्ष बिरेन्द्रबहादुर शाहले आगलागीका कारण ओपिडी र ल्याब सेवा बन्द गर्नुपर्ने बाध्यताका कारण बन्द गर्नु परेको जनाउँदै गम्भीर समस्या भएका बिरामीलाई इमरजेन्सीमा चेकजाँचको व्यवस्था मिलाइएको बताउनुभयो । उहाँले दुई दिनका लागि इमरजेन्सीमा स्वास्थ्यकर्मीको सङ्ख्या थप गरेर चेकजाँचको व्यवस्था मिलाउने बारे छलफल भइरहेको बताउनुभयो । 

यस्तै, भेरी अस्पतालमा भएको आगलागीको कारण र क्षतिको यकिन विवरण सङ्कलन गरेर प्रतिवेदन प्रस्तुत गर्न अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। सो जानकारी गराउँदै अस्पताल विकास समितिका अध्यक्ष शाहले समितिमा अस्पताल विकास समितिका सदस्य समिर गुरुङ तथा कर्मचारीहरू बुद्धिबहादुर थापा, उदयविर शाही र मदन विक सदस्य रहनुभएको बताउनुभयो । 

समितिले छानबिन सुरु गरेको जनाउँदै छानबिन समितीका संयोजक डा. धितालले दुई तीन दिनभित्र सम्पूर्ण छानबिन गरेर प्रतिवेदन बुझाउने गरी काम सुरु गरिएको बताउनुभयो । अस्पतालको मेडिकल स्टोरमा रहेको भ्याक्सिन राख्ने फ्रीजमा सर्ट सर्किट भएर शनिबार बिहान १० बजे आगलागी हुँदा करिब चार करोडको क्षति भएको अनुमान गरिएको अस्पतालले जनाएको थियो ।