• १४ वैशाख २०८२, आइतबार

उपरदाङगढीमा कोतघर निर्माण

blog

तस्बिरः शालिग्राम नेपाल चितवनको पुरानो ऐतिहासिक उपरदाङगढीमा निर्माण भएको कोतघर ।

चितवन समाचारदाता

चितवन, वैशाख १४ गते  । चितवनको पुरानो सदरमुकाम ऐतिहासिक क्षेत्र उपरदाङगढीमा कोतघर निर्माण गरिएको छ ।  ऐतिहासिक क्षेत्रको संरक्षणसँगै मौलिकता कायम राख्न कोतघर निर्माण गरिएको हो । 

एक करोड २८ लाख रुपियाँको लागतमा कोतघर निर्माण पूरा भएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो । संरक्षणको अभावमा भग्नावशेषको अवस्थामा पुगेको कोतघरको जीर्णोद्वारसँगै आकर्षणको केन्द्र बनाइएको छ ।  

कोतघरलाई चालु आर्थिक वर्षको बजेटमा समावेश गरेर निर्माण थालिएको हो । निर्माण सकिए पनि गाउँपालिकालाई हस्तान्तरण भइनसकेको गुरुङले बताउनुभयो । भक्तपुर जिल्लाका कालिगडले निर्माण गरेको कोतघरको छाना तामाले छाएको छ । घरको सबै भागमा काठको प्रयोग गरिएको छ ।  

पुरातत्व विभागसँगको समन्वयमा कोतघरसहित, काठेपुल, ढोका र मन्दिरको जीर्णोद्वार सम्पन्न भएको हो । गाउँपालिकाका अनुसार पुरातत्व विभागको डिजाइन र अनुगमनमा काम भएको हो । “गढीको पुरानो स्वरूप कायम भएको छ,” अध्यक्ष गुरुङले भन्नुभयो, “जीर्णोद्वारपछि कोतघर पुरानै अवस्थामा आएको छ ।” गढीबाहिरको क्षेत्रमा खानेपानीको व्यवस्था, यात्रु प्रतीक्षालय र शौचालय निर्माण सकिएको छ । 

गाउँपालिकाको आन्तरिक स्रोतबाट जीर्णोद्वारको काम भएको हो । गढीको जग्गा संरक्षणलाई अगाडि बढाइएको उहाँले बताउनुभयो । चितवन र समग्र देशको इतिहाससँग जोडिएको गढीलाई गाउँपालिकाले प्राथमिकतामा राखेर पर्यटकीय गन्तव्य बनाउन लागिपरेको छ ।

गढीसहित यस वरपर पर्यटकीय क्षेत्र निर्माण गर्न पालिकाले संरक्षण र संरचना निर्माणमा ध्यान दिएको अध्यक्ष गुरुङले बताउनुभयो । गढी र मायाटार क्षेत्रमा आएका पर्यटकलाई बास बस्नका लागि घरवासको व्यवस्था गरिएको छ । गढी क्षेत्रमा स्थानीयले नै घरवासका लागि लगानी गरेका छन् भने पालिकाले पनि सहयोग गरेको छ । मायाटार क्षेत्रका सामुदायिक भवनमा घरवासका लागि पालिकाले कपडा सहयोग गरेको छ । स्थानीयले निर्माण गरेको घरमा घरवासका लागि ओड्नेओछ्याउने सहयोग गरेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।  

पुरानो सदरमुकाम तथा नेपाल–अङ्ग्रेज युद्धस्थल उपरदाङगढीसँगै इच्छाकामना मन्दिर, पाथीभरा, सिँराइचुली र जलवीरे झरनालाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा अघि बढाइएको उहाँले बताउनुभयो । सडक सञ्जालले जोडिएर पूर्वाधार निर्माण हुन थालेपछि ऐतिहासिक गढी घुम्न आउनेको सङ्ख्या बढेको छ । जिल्ला सदरमुकाम भरतपुरबाट करिब एक घण्टामा पुग्न सकिन्छ । शक्तिखोर फिस्लिङ सडकका कारण पनि यहाँ घुम्न आउने बढेका छन् । 

‘तीन वर्षसम्म गढी घुम्न आउनेबाट गाउँपालिकाले वार्षिक ६० हजार रुपियाँ आम्दानी गरेको थियो,” अध्यक्ष गुरुङले भन्नुभयो, “अहिले पालिकाले वार्षिक सात लाख रुपियाँ आम्दानी गर्न सफल भएको छ ।” कोतघर निर्माणपछि यहाँ पुरानो तोप ल्याएर राख्ने तयारी भएको उहाँले बताउनुभयो । 

गढीसम्म पुग्ने सहज सिढी निर्माण र अन्य भौतिक संरचना निर्माण गरेर वार्षिक २० लाख रुपियाँ आम्दानी गर्ने लक्ष्यसहित काम गरेको अध्यक्ष गुरुङले बताउनुभयो । स्थानीय घरवास सञ्चालक गणेशबहादुर थापाले पछिल्लो समय यहाँ घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको उल्लेख गर्नुभयो ।

सार्वजनिक बिदाका दिनमा कोठा नपाएर गाउँको घरमा बस्न जानु पर्छ । सयौँको सङ्ख्यामा ऐतिहासिक गढीको जानकारी लिन आउने गरेका छन् । गढी क्षेत्रमा १५० जना र नजिकै रहेको मायाटार क्षेत्रमा एक सय जना बास बस्न सकिने घरवासको व्यवस्था रहेको छ । इच्छाकामनासँग जोडिएको कालिका नगरपालिकाले पनि उपरदाङगढीसँग जोडेर पर्यटन पूर्वाधार निर्माणका कार्यव्रmम गर्दै आएको छ । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले उपरदाङगढीसम्म पुग्न कालोपत्रेखोलामा पुल निर्माण भइसकेको जानकारी दिनुभयो ।

२०१७ सालसम्म उपरदाङगढी चितवनको सदरमुकाम थियो । इतिहासमा उल्लेख भए अनुसार २०२७ सालसम्म सरकारी कामकाज यहीँबाटै सञ्चालन हुने गरेको थियो । तल्कालीन बाइसे/चौबिसे राज्य एकीकरणका साथै नेपाली भूमिको रक्षाका लागि अङ्ग्रेज फौजविरुद्धको युद्धका बेला उक्त गढी निर्माण भएको उल्लेख छ । गढी वरपर कुँदिएका ढुङ्गाको पर्खाल छ । भित्र हतियारघर र पानीको कुँवासमेत रहेको छ । समुद्री सतहबाट एक हजार २७५ मिटर उचाइमा रहेको उपरदाङगढीबाट सूर्योदय र सूर्यास्त सहजै अवलोकन गर्न सकिन्छ । स्थानीय बासिन्दाका अनुसार यहाँबाट अन्नपूर्ण, लाङ्टाङ, इच्छाकामना, कालिका मन्दिर, देवघाट, गोरखा, तनहुँ र चितवनका ग्रामीण क्षेत्र र निकुञ्ज सजिलै देखिन्छन् । यहाँ चेपाङ, मगर र गुरुङको पातलो बस्ती रहेको छ ।