ढल्केबर समाचारदाता
ढल्केबर, वैशाख १४ गते । मानवसेवा आश्रमले जनकपुरमा भवन निर्माण सुरु गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित केन्द्रीय गुठी संस्थानसँग भाडामा लिएको १३ कट्ठा जग्गामा आश्रमले नयाँ भवन निर्माण गर्न लागेको हो ।
आश्रमका केन्द्रीय सचिव सुमन बर्तौलाले मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आर्थिक सहयोगमा भवन निर्माण सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार भवन निर्माणमा कुल ६० लाख रुपियाँ लागत अनुमान गरिएको छ । त्यसमध्ये ३० लाख रुपियाँ प्रदेश सरकारको सहयोगमार्फत प्राप्त भइसकेको छ भने बाँकी रकम विभिन्न सामाजिक सहयोगी संस्था तथा दातृ निकायबाट सङ्कलन गर्ने योजना छ । उहाँले दुई तले बन्ने भवनमा एक सयभन्दा बढी सडकमानव आश्रितका लागि आवास व्यवस्था हुने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “चार वर्षदेखि जनकपुरधाममा सेवा गर्दै आएको मानवसेवा आश्रममा हाल ५० जना आश्रित रहेका छन् । तीमध्ये अधिकांश असहाय, गरिब, मानसिक रूपमा कमजोर, सडकमा बस्न बाध्य तथा परिवारविहीन व्यक्ति छन् । आश्रमले उनीहरूलाई आवास, भोजन, स्वास्थ्य उपचारलगायत आधारभूत सेवा प्रदान गर्दै आएको छ ।” नयाँ भवन निर्माणसँगै सेवा अझ व्यवस्थित र विस्तार गर्न सकिने जानकारी दिँदै जनकपुरवासी, उद्योगी–व्यवसायी, सङ्घ संस्था तथा समाजसेवीलाई आर्थिक तथा भौतिक सहयोग गर्न सचिव बर्तौलाले आग्रह गर्नुभयो । जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोज साहले समाजको असहाय वर्गको सेवामा व्रिmयाशील मानवसेवा आश्रमको कार्यप्रति आफू प्रभावित रहेको बताउँदै उपमहानगरपालिकाका तर्फबाट पनि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नयाँ भवन निर्माणपछि सडकमा जीवन बिताइरहेका धेरै व्यक्तिलाई आश्रयको व्यवस्था मिल्ने अपेक्षा गरिएको छ । यसमार्फत मानवता र सामाजिक उत्तरदायित्वको भावना अझ सशक्त हुँदै जाने विश्वास गरिएको छ ।