• १४ वैशाख २०८२, आइतबार

‘नेपाल–भारतबिचको मित्रता प्रगाढ’

blog

तस्बिर : धर्बेन्द्र झा भारतको विहार सरकारका पञ्चायती राज विभागमन्त्री केदारप्रसाद गुप्तालाई सम्मान गर्नुहुँदै जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारी ।

धनुषा समाचारदाता 

जनकपुरधाम, वैशाख १४ गते  । भारतको विहार सरकारका पञ्चायती राज विभागमन्त्री केदारप्रसाद गुप्ताले नेपाल र भारतबिचको मित्रता प्रगाढ रहेको बताउनुभएको छ । उहाँले सम्बन्धलाई अझै सुदृढ र मजबुत बनाएर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । मधेश प्रदेशको राजधानी जनकपुरधाममा शनिबार कानुन समाज नेपालले आयोजना गरेको शपथग्रहण तथा सम्मान कार्यव्रmममा उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले रामायणकालीन भगवान् रामसीताको विवाहको प्रसङ्ग उल्लेख गर्दै  नेपाल र भारतबिचमा ऐतिहासिक धार्मिक, सांस्कृतिक सम्बन्ध रहेकोले यसलाई कसैले तोड्न नसक्ने बताउनुभयो । उहाँले भारत–नेपालको विकासका लागि सदैव प्रतिबद्ध रहेको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको साथसाथै नेपाल र नेपालीको विकास चाहेको बताउनुभयो । 

उहाँले समाजमा विभिन्न खालका विकृति रहने गरेको भन्दै त्यस्ता विकृतिको अन्त्य गर्न कानुन समाज नेपालले अग्रणी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यव्रmममा जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले जातीय सङ्गठनले समाज सुधारको काममा लाग्नुपर्नेमा जोड दिनुभयो । कानुन समाज नेपालको जनकपुरधाम नगर समिति र सन्तोष साहको नेतृत्वमा चयन भएको युवा समितिका पदाधिकारी र सदस्यलाई शपथ ग्रहण गराइएको थियो । 

जनकपुरधाम आएका भारतको विहार सरकारका पञ्चायती राज विभागमन्त्री केदारप्रसाद गुप्तालाई जनकपुरधाम उद्योग वाणिज्य सङ्घ, गोविन्द सेवा समितिसहितका सङ्घ संस्थाले दोसल्ला र जानकी मन्दिरको प्रतीक चिह्न, मिथिला चित्रकला उपहार दिएर सम्मान गरेको थियो ।