तिनाउ समाचारदाता
तिनाउ (रूपन्देही), वैशाख १४ गते । वैशाख लागेसँगै तराईका जिल्लामा अत्यधिक रूपमा गर्मी बढेको छ । अप्रत्यासित रूपमा गर्मी बढेपछि तराई मधेशको जनजीवन कष्टकर बनेको छ । त्यसमा पनि पछिल्लो दुई/तीन दिनयता रूपन्देहीलगायतका तराईका जिल्लामा दिउँसोको समयमा बाहिर निस्किनै नसकिने गरी गर्मी बढेको हो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशका तराई भूभागमा केही स्थानमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुग्ने जनाए पनि शुक्रबार दिउँसो भैरहवाको तापक्रम ४३ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार दिउँसोदेखि रूपन्देहीलगायतका जिल्लामा चर्को गर्मीसहित तातो हावा (लु) चलेको छ । गर्मीका कारण बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी मर्कामा परेको बुटवलका स्थानीय गोपाल ज्ञवालीले बताउनुभयो । उहाँले चर्को घाम र तातो हावाले बालबालिका र वृद्धवृद्धालाई सकेसम्म बाहिर जानबाट जोगाउनुपर्ने बताउनुभयो ।
तराईका जिल्लामा चर्को घामसँगै तातो हावा चल्न सुरु गरेपछि दिउँसो घरबाटै बाहिर निस्किनै नसकिने अवस्था आएको तिलोत्तमा–१५ का स्थानीय व्यवसायी मदन भुसालले बताउनुभयो । उहाँले गर्मीका कारण व्यापार गर्न निकै कठिन भएको बताउनुभयो । तरकारी तथा फलफूलको व्यापार गर्दै आउनुभएका भुसालले बिहान किनेको ताजा तरकारी तथा फलफूल दिउँसोको घामले सुकेर बिक्री गर्न कठिनाइ भएको बताउनुभयो । वैशाख पहिलो साताबाटै चर्को गर्मी बढेपछि व्यवसायमा ठुलो असर पुगेको भुसालको भनाइ छ । अत्यधिक गर्मीका कारण अस्पतालमा बिरामीको चापसमेत बढेको छ । भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा बिरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका चिकित्सक डा. आकाश शाहीले गर्मी बढेसँगै अस्पतालमा झाडापखाला लाग्ने, ज्वरो आउने, कमजोरी महसुस हुने तथा छालामा समस्या देखिएका बिरामीको भिड लाग्ने गरेको जानकारी दिनुभयो ।