• १४ वैशाख २०८२, आइतबार

भत्काइयो अतिक्रमण गरेर बनाइएका घरटहरा

blog

तस्बिर :केदार तिमल्सिना सडक सीमाभित्र निर्माण भएका घर भत्काउँदै सूर्यविनायक–धुलिखेल सडक आयोजना ।

बनेपा समाचारदाता 

बनेपा, वैशाख १४ गते  । अरनिको राजमार्गको काभ्रेपलाञ्चोक सडकखण्ड अन्तर्गत साँगादेखि धुलिखेलसम्मको सडक सीमाभित्र निर्माण भएका स्थायी तथा अस्थायी संरचना भत्काइएको छ । छ लेनमा विस्तार भइरहेको अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक अन्तर्गत काभ्रे खण्डमा सडकको सीमा क्षेत्रभित्र निर्माण भएका स्थायी तथा अस्थायी संरचना भत्काइएको हो । 

सूर्यविनायक–धुलिखेल सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले विस्तारित अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको सडक सीमामा निर्माण भएका स्थायी तथा अस्थायी संरचना भत्काइएको बताउनुभयो । आयोजनाले साँगादेखि धुलिखेलसम्मको साढे आठ किलोमिटर सडकखण्डमा ७५ फिटभित्र निर्माण भएका संरचना भत्काउने काम गरेको बताउनुभयो । 

साँगादेखि धुलिखेलसम्मको क्षेत्रमा स्थायी र अस्थायी गरी १३ वटा घरटहरा भत्काउनुपर्ने देखिए पनि चार वटा घरटहरा सम्बन्धित धनीले नै भत्काएको र आयोजनाले नौ वटा संरचना हटाएको हो ।  “विस्तारित सडक अन्तर्गत काभ्रेपलाञ्चोकतर्फ ७५ फिट क्षेत्रभित्र निर्माण भएका नौ वटा स्थायी तथा अस्थायी घरटहरा भत्काएसँगै मापदण्ड अनुरूप राजमार्ग निर्माण गर्न सहज वातावरण बनेको छ,” खनालले भन्नुभयो । उहाँले आयोजनाले दिएको समयसीमाभित्र सम्बन्धित घरधनीले राजमार्गको सीमाभित्र निर्माण भएका संरचना नहटाएका कारण आयोजनाले भत्काउनु परेको बताउनुभयो । उहाँले सडक सीमाभित्र निर्माण भई पिल्लर सार्नुपर्ने घरलाई १० दिनको म्याद दिइएको जानकारी दिनुभयो ।

आयोजनाले धुलिखेल चोक, २८ किलो चोक, बुडोल, जनागाल र साँगामा सडकको सीमाभित्र निर्माण भएका छ वटा स्थायी र तीन वटा अस्थायी घरटहरा हटाएको हो । आयोजनाका ई. खनालले काभ्रेतर्फका स्थायी र अस्थायी संरचना हटाउने काम सकिए पनि अझै केही कुवालगायतका संरचनासमेत हटाउन बाँकी रहेको बताउनुभयो । आयोजनाले पहिलो चरणमा काभ्रेपलाञ्चोकतर्फ सडक सीमामा निर्माण भएका संरचना हटाएको र दोस्रो चरणमा सूर्यविनायकदेखि साँगासम्मको सडक सीमामा निर्माण भएका संरचना भत्काउने जनाएको छ । विस्तारित अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्म ८६ वटा घरटहरा भत्काउनुपर्ने अवस्थामा रहेको आयोजनाले जनाएको छ । 

राजमार्गको सीमाभित्र निर्माण संरचना हटाउने विषयमा मुआब्जालगायतको विषयमा लामो समयसम्म विवाद भएका कारण साढे दुई वर्षसम्म राजमार्गको सीमाभित्र निर्माण भएका संरचना हटाउन समस्या भएको थियो । सरकारले आफ्नै लगानीमा अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको १६ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी विस्तारको काम गर्दै आएको छ । सूर्यविनायकदेखि साँगासम्मको ७.५ किलोमिटर सडक निर्माणका लागि आशिषकुमार श्रेष्ठ/बन्धन/भगवती जेभीसँग भ्याटसहित तीन अर्ब ८८ करोड ९३ लाख रुपियाँमा ठेक्का सम्झौता भएको छ । 

साँगादेखि धुलिखेलसम्मको ८.५ किलोमिटर सडक निर्माणका लागि लामा कन्स्ट्रक्सनसँग भ्याटसहित चार अर्ब पाँच करोड ६४ लाख रुपियाँमा ठेक्का सम्झौता गरी २०७९ मङ्सिरदेखि सडक विस्तारको काम गर्दै आएको छ ।