घोराही समाचारदाता
घोराही, वैशाख १४ गते । दाङमा चार लाखभन्दा बढी क्युफिट काठ कटान गरिने भएको छ । डिभिजन वन कार्यालय देउखुरी र घोराही अन्तर्गत जिल्लाका ८० वटा सामुदायिक वन समूहबाट यस वर्ष चार लाख २६ हजार ५०८ क्युफिट काठ कटान गरी सङ्कलन गरिने भएको हो ।
वन संवर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रम अन्तर्गत जङ्गलमा तयार भएका रुख व्यवस्थापन गर्न थालिएको हो । वन समूहको कार्ययोजना अनुसार तयार भएका र साना रुखलाई बढ्नमा समस्या गर्ने पहिचान गरिएका रुख कटान गर्न थालिएको छ । वन संवर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रम अन्तर्गत डिभिजन वन कार्यालय देउखुरी अन्तर्गत रहेका ५१ वटा वन समूहबाट दुई लाख ५० हजार क्युफिट काठ कटान गरी सङ्कलन गर्न आदेश भएको सहायक वन अधिकृत हरि पौडेलले जानकारी दिनुभएको छ ।
सहायक वन अधिकृत पौडेलका अनुसार वन संवर्धन प्रणाली लागु भएका वन समूहलाई काठ कटानको आदेश दिइएको छ । वन संवर्धन प्रणाली अन्तर्गत प्रक्रिया पूरा गरेका ५१ वटा वन समूहलाई कटानको अनुमति दिइएको बताउनुभयो । गत वर्ष देउखुरी अन्तर्गत ६३ वटा सामुदायिक वनबाट एक लाख ४४ हजार २०२.४० क्युफिट काठ कटान गरिएको थियो ।
वन समूहको कार्ययोजना अनुसार तयार भएका रुखसँगै ढलापडा, तयार भएका खडा तथा वयस्क अवस्थाका पुराना रुख सामुदायिक वन समूहले कटान गरी काठ दाउरा सङ्कलनका लागि स्वीकृति प्रदान गरिएको भन्दै सहायक वन अधिकृत पौडेलले भन्नुभयो, “वनमा तयार भएका रुखलाई व्यवस्थापन गर्ने गरी कटान र घाटगद्दीका लागि अनुमति दिएका छौँ ।” अनुमति अनुसार वन समूहमा कटानको काम भइरहेको बताउनुभयो ।
बुढा पुराना रुखले नयाँ बिरुवाको वृद्धि विकासमा बाधा पुग्ने भएकाले प्रत्येक वर्ष तयार भएका रुखको व्यवस्थापन गर्ने कार्यक्रम अन्तर्गत तयार भएका रुख कटान गर्ने गरिएको सहायक वन अधिकृत पौडेलले बताउनुभयो । यसरी कटान गरिएको काठ वन समूहका माध्यमबाट ५० प्रतिशत वन समूहका सदस्यले उपयोग गर्ने र बाँकी ५० प्रतिशत बाहिरका उपभोक्तालाई बिक्री गर्ने गरेका छन् ।
यसै गरी डिभिजन वन कार्यालय घोराही अन्तर्गत २९ वटा सामुदायिक वनबाट करिब एक लाख ७६ हजार ५०८ क्युफिट काठ व्यवस्थापनका लागि कटान आदेश दिइएको डिभिजन वन कार्यालय घोराहीका रेन्जर अमित पाण्डेले जानकारी दिनुभएको छ । रेन्जर पाण्डेका अनुसार कटान आदेश लिएका सामुदायिक वन समूहले जेठ मसान्तभित्र रुख कटान, मठान र व्यवस्थापन गरिसक्नुपर्ने छ ।
डिभिजन वन कार्यालयले कटान आदेश जारी गरेका सामुदायिक वनमा पर्ने रुखलाई विभिन्न चरणमा अनुगमन गरी कटान गर्न योग्य र मापदण्ड पूरा भएका रुखलाई व्यवस्थापनका लागि कटान आदेश दिएको भन्दै रेन्जर पाण्डेले भन्नुभयो, “वनमा तयार भएका रुखको व्यवस्थापन गर्ने र साना रुखलाई हुर्कन सहयोग पुर्याउने विधि हो ।” बुढा पुराना रुखले नयाँ बिरुवाको वृद्धि विकासमा बाधा पुग्ने भएकाले तयार भएका रुख व्यवस्थापन गर्ने गरिएको बताउनुभयो ।
कटान आदेश अनुसार रुख खटान भए नभएको विभिन्न चरणमा अनुगमनसमेत भइरहने भन्दै रेन्जर पाण्डेले भन्नुभयो, “अनुगमनका क्रममा कटान आदेश दिएकोभन्दा बाहिर गएर रुख कटान गरिएको पाइएमा कारबाही हुन्छ ।” उहाँका अनुसार जिल्लामा गत वर्षभन्दा यो वर्ष बढी काठ उत्पादन हुने अनुमान गरिएको छ । गत वर्ष घोराही डिभिजन वन कार्यालय अन्तर्गत एक लाख ५० हजार क्युफिट काठ कटान अनुमति दिइएकोमा यो वर्ष एक लाख ७६ हजारभन्दा बढी अनुमति दिएको बताउनुभयो ।