धादिङबेँसी समाचारदाता
धादिङबेँसी, वैशाख १४ गते । धादिङ जिल्लामा पहिलो पटक मकै रोप्ने मेसिन भित्रिएको छ । त्रिपुरासुन्दरी गाउँपालिका–५ स्थित सल्यानटारमा मकै रोप्ने मेसिन भित्रिएको हो ।
कृषि विकास कार्यालय धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका र साना किसान कृषि सहकारी संस्थाको संयुक्त अनुदानमा यो मेसिन ल्याइएको हो । कृषि विकास कार्यालय धादिङका प्रमुख गोविन्दप्रसाद पोखरेलले गाउँपालिका अध्यक्ष राजु उप्रेती, उपाध्यक्ष देवराज धरेल, सहकारी अध्यक्ष फनिकान्त छत्कुलीलगायतलाई सामूहिक रूपमा मेसिन हस्तान्तरण गर्नुभएको हो ।
पोखरेलका अनुसार ट्याक्टरमा जडित मेसिनले प्रतिघण्टा १५ देखि १८ रोपनी जमिनमा मकै रोप्न सक्छ । यस मेसिनबाट मकैसँगै मल हाल्न र गोड्ने कामसमेत गर्न सकिने सुविधा छ । विशेष गरी ठुला र समथर जमिनमा उपयुक्त हुने मेसिनले खेतीमा लाग्ने जनशक्ति घटाउन सहयोग पुग्ने छ ।
गाउँपालिका अध्यक्ष राजु उप्रेतीले कार्यक्रम सफल भयो भने आगामी वर्ष थप मेसिन खरिदको कार्यक्रम ल्याउने योजना रहेको बताउनुभयो । कृषि प्राविधिकले मकै रोप्दा करिब २० जनासम्मको श्रम घटाउने यस मेसिनले खेतीलाई आधुनिक बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिकाको सहयोगमा यसअघि पनि साना किसान सहकारीले धान रोप्ने, काट्ने, आलु रोप्ने, खन्ने र औषधी छर्ने मेसिन ल्याइसकेको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । उपकरणको प्रयोगले खेतीलाई व्यावसायिक बनाउन मद्दत पुग्ने उपाध्यक्ष देवराज धरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “त्रिपुरासुन्दरीलाई कृषि क्षेत्रमा देशकै नमुना गाउँपालिका बनाउन निरन्तर प्रयास जारी रहने छ ।” सहकारी संस्थाले हाल व्यावसायिक खेतीसँगै किसानलाई आवश्यक पर्ने कृषि उपकरण, मकै बिउ, मल र विषादीसमेत अनुदानमा वितरण गर्दै आएको छ ।