चिसो बिहानीमा सिमसिम पानी पर्दै थियो । २०८१ साल असोज २९ गते गोसाइँकुण्डतर्फ हिँड्ने बेलामा कान्छी छोरीले भनी, “मामु छिट्टै आउनु है !” सानी नानीको कोमल आवाजले मस्तिष्कमा अनौठो स्नेह र न्यानोपनको आभास दिलायो । भावुक अनुहारबिच छोरीसँग छुट्टिएर यात्रा अघि बढाउन कम्ता अप्ठेरो परेको थिएन, त्यस दिन । मनभित्रै स्नेह लुकाउँदै आँखामा टिलपिलाएका आँसु सानो मेहनतले लुकाइएको थिएन । कारण यो यात्रा दुई छोरीलाई छोडेर हिँडेको हालसम्मकै लामो यात्रा थियो ।
नुवाकोटको त्रिशूली बजारबाट हिँडेको करिब दुई घण्टापछि रसुवाको धुन्चे पुग्दा सूर्यको पारिलो किरणले हाम्रो स्वागत गरिरहेको थियो । यात्रामा पाँच जना थियौँ । त्रिशूली नदीको किनारस्थित सानो गोसाइँकुण्ड हुँदै पहिलो दिनको पैदलयात्रा आरम्भ गरियो । ती स्थान आफैँमा सुन्दर प्राकृतिक छटाले भरिपूर्ण तथा मनमोहक थिए । खोलाको निर्मल पानीको कलकल आवाजसँगै झोलुङ्गे पुल तर्दाको अनुभव केही डरलाग्दो र उत्साहपूर्ण थियो । त्यहीँबाट सुरु भएको थियो, नाकै ठोक्किने उकालो । घना जङ्गलबिच कहालीलाग्दो भिरको बाटो हुँदै यात्रा अघि बढ्दा नजिकैबाट सानाठुला छाँगा प्रस्टै देखिन्थे । गोसाइँकुण्डबाट सुरु भएको त्रिशूली नदीको छङछङ आवाज तराईमा जन्मी हुर्केकी मेरा लागि अलौकिक, उत्सुकतापूर्ण तर कठिन यात्रा थियो ।
यात्राका हरेक पाइलासँगै मभित्र अनेकन जिज्ञासा उब्जिरहेका थिए । अजङ्गका पहाड, कहालीलाग्दा भिर, घना जङ्गल, नाकै ठोक्किने ठाडो उकालो बाटो र ती बाटोमा अनेकन गतिमा हिँड्ने युवा, वयस्क तथा ज्येष्ठ नागरिकको निरन्तर र उत्साहित यात्रा नै मेरा जिज्ञासा थिए । बाटामा भेटिएका यात्रु, घोडा, खच्चडका ताँतीले अघि बढ्ने उत्साह थपेको थियो । अघि बढ्दै जाँदा ठुला ठुला खोँच र भिर देख्दा मेरा खुट्टा थरथर कामिरहेका थिए । यात्रामा श्रीमान्जी उत्साह थप्दै थिए । यात्रामा थाक्दै गएपछि लौरीको पनि निकै भर हुने रहेछ । करिब दुई घण्टाको कठिन तर रोमाञ्चक यात्रापछि पुगियो– प्राकृतिक सुन्दरताले भरिएको लोभलाग्दो गाउँ देउराली । करिब १० वटाजति घर भएको देउरालीका घर सबै होटल रहेछन् । चिया पिउँदै थकाइ मेट्यौँ ।
सुन्दर देउरालीलाई मनमुटुभरि सजाउँदै पुनः घना जङ्गलको माझबाट यात्रा अघि बढ्यो । उही भिरपाखाको अत्यासलाग्दो उकालो । गलित शरीर, बढेको श्वास र दुखेको गोडालाई लौरोको भरोसा लिँदै करिब दुई घण्टाको हिँडाइपछि ढिम्सागाउँ पुगियो । पर्यटकको स्वागतमा चार/पाँच घर लामबद्ध थिए । हरेक घरमा पाहुनाका लागि खाने बस्ने व्यवस्था रहेछ । देउरालीबाट उँभो लागेपछि भेटिने पहिलो बस्तीमा एकछिन सुस्ताउँदै चिया पिएर अघि बढ्यौँ ।
केही बेर थकाइ मारेपछि चढ्न थालियो उकालो । कतै ठाडो उकालो त कतै तेर्सो तर मनमोहक प्राकृतिक छटासँग रमाउँदै अघि बढ्यौँ । जति जति यात्रा अघि बढ्दै जान्छ, प्रकृतिको सुन्दरतामा थप निखारता र शरीरमा थप कौतूहल बढ्दै थियो । तथापि शरीर चाहिँ थकित हुँदै थियो । करिब साँझ ६ बजेतिर पुगियो– यस पदमार्गकै एक सुन्दर गाउँ, स्वर्गको एक टुक्रा सुन्दर पर्यटकीय गाउँ चन्दनबारी । नाम झैँ सुगन्धमय पहाडको टुप्पोमा थपक्क बसेको चन्दनबारी । आँगनभरि गुलाफ र अन्य फूल पदयात्रीको स्वागत गर्न लामबद्ध थिए । जता हे¥यो उतै नाचौँ जस्तो, हासौँ जस्तो, लडीबुडी खेलौँ जस्तो अझ साँच्चै भनौँ भने खुसीले पागल बनौँ जस्तो । यस्तै उमङ्गले चन्दन झैँ सुवासिलो चन्दनबारीलाई साँझको गोधूलिमा नयन, मनमस्तिष्क र क्यामरामा कैद गर्दै गर्दा त्यो उच्च भूमिको साँझको चिसोको सिरेटोले हाम्रो शरीरलाई कमाउन थालिसकेछ ।
जाडोले शरीर बिस्तारै काम्दै थियो । खोकी लागेर केही बेर असहज महसुस भयो । बुद्ध गेस्ट हाउसको ‘क्याम्प फायर’ तिर जाडो छल्न छि¥यौँ; जहाँ देशीविदेशी पाहुना चिया, कफी, तातोपानीमा रमाइरहेका थिए ।
खोकी निरन्तर भएकाले गेस्ट हाउसका दिदीसँग पोलेको अदुवा र मह मागी सेवन गरियो । म चिम्नीनजिकै रैथानै चिया पिएर बसिरहँदा उनी होटेलबाहिर ढकमक्क फुलिरहेका गोदावरी, गुलाफलगायत फूलसँग खेलिरहेका थिए । म चाहिँ जवानीमै बुढेसकाल लागे झैँ चिसोले कठ्याङ्ग्रिएर चिसा हातखुट्टा तथा कलेटी परेका ओठ र केही खोकीले गलित थिएँ । कतै आफ्नै कारण लक्षित यात्रा पूरा नहुने हो कि भन्ने भयले मनमा ढ्याङ्ग्रो ठोकिरहेको थियो । थकित शरीर, चिसो वातावरण र चञ्चल मन, सुन्दर परिवेशबिचको पौँठेजोरी चलिरह्यो– मनभित्र । मन भन्छ– तुरुन्त बाहिर निस्कौँ, प्रकृतिको रसास्वादन गरौँ, नाचौँ, उफ्रौँ, फोटो र भिडियो खिचौँ । शरीर र वातावरणले भने भित्र न्यानोमा आराम गरी तातो तातो खाना खाएर आराम गर्न हामीलाई बाध्य पा¥यो । अन्ततः भोलि बिहानको सुन्दर कल्पना गर्दै खाना खाएर होटेलको चिसो कोठामा शरीर तताउँदै सुत्यौँ । दिनभरिको हिँडाइ, थकित शरीर, चञ्चल र पुलकित मन र त्योभन्दा पनि भोलिको यात्राको कौतूहलबिच खाना र तातो पानीको न्यानोसँगै हामी सुत्यौँ ।
भोलिपल्ट बिहानको चियापछि होटेलकी निमा दिदीले दिएको पोलेको अदुवा, लसुन र टिमुर चपाउँदै पुनः हाम्रो यात्रा अघि बढ्यो । चन्दनबारीनजिकै केही अप्ठेरो बाटोले अत्तालिएकी म अलिक अघि बढेपछि तेर्सो तेर्सो हल्का उकालो तर फराकिलो बाटो हिँड्न उति गारो परेन । करिब ९ बजेतिर हामी चन्दनबारीपछिको अर्को बस्ती चोलाङपाटी पुग्यौँ । शरीरमा हिजो जस्तो स्फूर्ति थिएन । वातावरण थप चिसो हुँदै थियो । यात्रामा रहेका मानिस थकित देखिन्थे तर आआफ्ना क्षमता अनुसार हिँडाइको गति फरक फरक देखिन्थ्यो । समग्रमा सबै थकित नै देखिन्थे । चोलाङपाटी पुगेपछि मनमा आत्मविश्वास बढेको, मेरो मनमा गाडिएका त्रासका जराहरू बिस्तारै बिस्तारै बाहिर निस्कन लागे झैँ भएका थिए । एकाएक मुहारमा कान्ति छाएको भान भयो । लसुनको तातो सुप पिएर हाम्रो यात्रा अघि बढ्यो ।
बिस्तारै जङ्गल हराउँदै थिए । साना बुट्यानहरू देखिन थाले । पहाडको उचाइ र हावाको चिसोपना बढ्दै गयो । यात्रा कठिन हुँदै थियो तर आफ्नो शारीरिक पीडालाई साहसले जित्दै अगाडि बढे मेरा पाइला । कोही घोडामा आफ्नो यात्रा अघि बढाइरहेका थिए । अधिकांश मानिस सुस्तरी सुस्तरी यात्रा अघि बढाइरहेका थिए । गोसाइँकुण्डको यात्रा पूरा गरी फर्किएका यात्रीको शरीर थकित देखिए पनि अनुहारमा कान्ति छाएको सहजै देख्न सकिन्थ्यो । म बिस्तारै बिस्तारै आफैँ हिँडेर जानु पर्छ भन्ने दृढ आत्मबलका साथ थकित शरीरलाई उकालो चढाउँदै थिएँ ।
करिब चार हजार मिटरको उचाइ, मुटु कठ्याङ्ग्रिने चिसो, चिसो हावाको झोक्का, थकित शरीर तर गोसाइँकुण्ड पुग्ने तीव्र इच्छा र उच्च मनोबलका साथ बल्लतल्ल पुगियो गणेशमन्दिर । यस यात्राकै सबैभन्दा कठिनतम खण्ड निकै कठिनसाथ पूरा गरियो । त्यहाँबाट देखिएको लाङटाङ हिमाललगायत उत्तरदेखि दक्षिणसम्म देखिएका हिमाल र आफूभन्दा होचा पहाडलाई घण्टौँ नियाल्ने इच्छा छिटो छिटो पूरा गरियो । मन पटक्कै भरिएको थिएन तर तन फतक्कै गलेको थियो । त्यसमाथि मुटु कमाउने चिसो सिरेटो र छिनमै झपक्क छोप्ने गरी हुत्तिएर आउने बादलको झोक्कासँग हाम्रो केही लागेन । गणेशमन्दिरदेखि गोसाइँकुण्डसम्मको बाटो केही ओरालो र अधिकांश तेर्सो भएकाले शरीरले अलिक सहज महसुस गरेको थियो ।
किंवदन्ती अनुसार समुद्र मन्थन गर्दा निस्किएको कालकुट विष महादेवले सेवन गर्दा शरीरमा उत्पन्न भएको जलन र औडाहा शान्त पार्न गोसाइँकुण्डमाथिको पहरामा त्रिशूलले प्रहार गरी त्रिशूल धारबाट निस्किएको चिसो पानीमा डुबुल्की लगाएको विश्वास गरिन्छ । हामी कुण्डको किनारमा पुग्दा सौभाग्यवश सबै बादल हटेर घाम लागेकाले त्यहाँ झटपट स्नान गर्न सक्यौँ । गोसाइँकुण्डको कठ्याङ्ग्रिने पानीभित्र सुतिरहेका शिव भगवान्को आकारको शिला दर्शन गर्न पाइयो । साँच्चै साक्षात् माहादेवको दर्शन पाएको अनुभूति भयो । अलौकिक स्वर्गीय आनन्दको अनुभूति भयो तर धेरै समय हामी त्यहाँ टिक्न सक्ने अवस्था थिएन । मनलाई त्यहीँ छोडी छिटो छिटो गर्दै हामी पुनः अघिकै तेर्सो बाटो हुँदै लौरीविनायकतर्फ फर्कियौँ ।
छिन छिनमै मौसम परिवर्तन भइरहेको र बादलका झोक्कासहितको छुरा जस्तो चिसो हावाले मेरो गाला मुसारे झैँ लाग्यो । बाटोभरि ससाना बुट्यानका बैजनी एवं निला पहेँला रङका फूलहरू फुलेको देख्दा खुसीको सीमा थिएन । हिँड्दा चिसो हावाको सुसेलीमा एउटा आनन्दको अनुभूति पाइन्थ्यो तर आफू तराईको उखर्माउलो गर्मीमा हुर्किएकाले शरीरले चाहिँ लाभ लिन असहज मान्दै थियो । तैपनि कठ्याङ्ग्रिने वातावरणमा मन र पैताला आफैँ सुस्तरी अघि बढ्थे । यसै कारणले होला, फर्किंदा बुद्धमन्दिर पुग्दा यात्राको गति निकै मिहिन रह्यो । गोसाइँकुण्ड हिन्दु तथा बौद्धमार्गीका लागि अत्यन्त महत्वपूर्ण तीर्थस्थल हो । यो तीर्थस्थल समुद्री सतहदेखि चार हजार तीन सय मिटरको उचाइमा नेपालको रसुवा जिल्लामा अवस्थित छ । हिन्दु धर्मका अनुसार गोसाइँकुण्डको दर्शनले मोक्ष प्राप्ति हुन्छ भन्ने मान्यता छ । यहाँ चैतेदसँै, जनैपूर्णिमा, शिवरात्रि जस्ता पर्वमा दर्शनार्थीको भिड लाग्ने गर्छ ।
प्राकृतिक जडीबुटीले भरिपूर्ण बुट्यान तथा नौलो वनस्पतिसँग हातेमालो गर्दै सम्पन्न भएको अहिलेसम्मकै सबैभन्दा रोमाञ्चक पदयात्रा बन्यो– गोसाइँकुण्ड भ्रमण । दुःख र सुखका साथ पर्यावरणसँग औधी निकट ल्याउने आध्यात्मिक स्थल पनि हो गोसाइँकुण्ड । विविधताले भरिपूर्ण प्राकृतिक थलो आफैँमा एउटा नमुना पाठशाला हो । यो चिन्तन, अध्ययन एवं स्वयम्लाई चिन्न सकिने ऊर्जाशील उद्गमस्थल पनि हो । लोभलाप, आफ्नो पराई बिर्साउने स्वर्गको एउटा टुक्रा हो–पावन भूमि गोसाइँकुण्ड । जीवनमा एक पटक पुग्नैपर्ने र हेर्नैपर्ने अनुपम काव्य हो–गोसाइँकुण्ड ।