• ८ वैशाख २०८२, सोमबार

विपतकाे साक्षी : भूगोलपार्क

blog

नयाँ सडक क्षेत्रको सानो र आकर्षक उद्यान हो ‘भूगोलपार्क’ । काठमाडौँ महानगरपालिका–२२ मा पर्ने यो पार्क र न्यूरोड पिपलबोट जमघटका लागि चर्चित छन् । भूगोलको अर्थ पृथ्वी र पार्कको अर्थ उद्यान भन्ने बुझिन्छ । पृथ्वीको आकृतिसहितको उद्यान भएकाले यसको नाम भूगोलपार्क राखिएको इतिहास छ तर भूगोलपार्क स्थापनाको कथा भयानक विपत्को घटनासँग जोडिएको छ । 

१९९० साल माघ २ गते दिउँसो २ बजे आएको ८.२ रेक्टर स्केलको भूकम्प (महाभूकम्प) ले धेरै ठूलो क्षति पुर्‍याएपछि तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले स्मारक राख्न भूगोलपार्क निर्माण गराएका थिए । 

त्यस महाभूकम्पमा १६ हजार ८७५ जनाको मृत्यु, तीन हजार ३११ जना घाइते, तीन लाख ६८ हजार घर भत्केपछि त्यसको सम्झनामा १९९५ सालमा पार्क निर्माण गरी भूकम्प स्मारक तयार पारिएको थियो । 

छ वटा कोणको गोलाकार स्मारकमा प्रधानमन्त्री जुद्धशमशेरको भाषण समेटिएको छ । भूकम्प पीडितोद्धार संस्था तथा कोषको स्थापना, राहत वितरण गर्न लिएको निब्र्याजी ऋण, विभिन्न स्वदेशी तथा विदेशी दाताबाट प्राप्त सहयोग रकमसहितको विवरण उल्लेख गरिएको छ । यस स्मारकको शिरमा बुद्धको पाँच सय वर्ष पुरानो मूर्ति राखिएको छ ।

यस मूर्तिको मुनि पृथ्वीको आकृति छ । पृथ्वीमाथि भगवान् बुद्धको पद्यासनको मूर्ति राख्दा भूकम्प जस्ता विपत्बाट जोगिन सर्वसाधारणमा आत्मबल बढ्ने र डर, त्रासबाट मुक्ति पाइने विश्वास रहेको सम्पदा संरक्षक पद्म श्रेष्ठको भनाइ छ । स्मारकको आधारमा पनि गोलाकार शैलीको विश्रामस्थल बनाइएको  छ । पृथ्वीमा जसरी तीन भाग पानी र एक भाग जमिन छ त्यसै विम्ब दिने गरी स्मारकको आधार निर्माण गरिएको छ । 

सङ्कटा क्लबले सार्वजनिक शौचालय, विश्रामस्थल निर्माण तथा पशुपति माडवाडी सेवा सङ्घले नियमित रक्तदान र निःशुल्क खानेपानी व्यवस्था भूगोलपार्कमा गरेका छन् । अचेल मौलिक पहिरन लगाएर फोटो, भिडियो खिच्नेहरूको यहाँ बाक्लो उपस्थिति रहन्छ । 

यसको रेखदेख तथा सुरक्षाका लागि एक जना अवकाशप्राप्त सैनिक कर्मचारी खटिने गरेका छन् । उनी त्यहाँ जथाभाबी फोहोर गर्ने, अनावश्यक बिरुवा चलाउने र कुल्चिनेविरुद्ध खरो रूपमा प्रस्तुत हुने गर्छन् । 

भूगोलपार्कको आडैमा पिपलबोट चौतारो छ । राजनीतिकर्मी र साहित्यकारको बाक्लो जमघट हुने नयाँ सडकको पिपलबोट चौतारोमा पहिलेको जस्तो सर्वसाधारणको उपस्थिति देखिँदैन । चौतारो वरिपरिका पत्रिका पसल हटेसँगै विगतको जस्तो रौनक त्यहाँ छैन । 

भूगोलपार्कमा मुख्य र सहायक गरी दुइटा प्रवेशद्वार छन् । धर्मपथतर्फको प्रवेशद्वार बन्द गरी त्यसको विकल्पमा पिपलबोटतर्फ वैकल्पिक ढोका राखिएको छ । नयाँ सडकतिरको प्रवेशद्वार खुला रहने गर्छ । पहिले यो उद्यान सबै दिन खुला हुँदैनथ्यो । महाभूकम्पमा परी ज्यान गुमाएकाहरूको सम्झनामा स्थापना गरिएकाले राष्ट्रिय भूकम्प दिवस अर्थात् माघ २ गते मात्र यसलाई खुला गरिन्थ्यो । 

कामनपा–२२ का वडाध्यक्ष चिनीकाजी महर्जनका अनुसार भूगोलपार्क सर्वसाधारणका लागि खुला गरिएपछि आकर्षण बढेको छ । भूगोलपार्क सार्वजनिक स्थानमा निर्माण भएको नेपालको पहिलो र पुरानो पार्क हो । 

त्यसअघि हनुमानढोका दरबार, नारायणहिटी दरबार, सिंहदरबारलगायत राणाहरूको दरबारमा मात्र यस्ता उद्यान निर्माण गरिन्थे । भूगोलपार्कमा रहेका वनस्पति नेपालका विभिन्न भूभागबाट ल्याएर रोपिएका हुन् । 

यसलाई नेपालको इतिहास बोकेको बगैँचाका रूपमा लिने गरिन्छ । भूगोलपार्क यस कारण पनि विशेष छ, मल्लकालीन न्यूरोड गेट, पहिलो अखबार गोरखापत्र, पहिलो कालोपत्रे नयाँ सडक (न्यूरोड), पहिलो चलचित्र घर जनसेवा, पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेड, चोकमा पहिलो सालिक जुद्ध सालिक, जुद्धवारुण यन्त्र आदि महìवपूर्ण सम्पदा यस क्षेत्रमा रहेका छन् । 

–देवबहादुर कुँवर   

 –युवामञ्च