• ७ वैशाख २०८२, आइतबार

टेलिफोनको तार चोरी गर्ने चार जना भारतीय पक्राउ

blog

लीलाराज खड्का 

बिर्तामोड, वैशाख ७ गते ।  टेलिफोनमा प्रयोग हुने केवलका तार चोरी गर्ने चार भारतीय नागरिक  पक्राउ परेका छन् । शनिबार दिउँसो मेचीनगर नगरपालिका –७ इँटाभट्टास्थित बस स्टेन्डमा शङ्कास्पद रूपमा ४ जना भारतीयलाई फेला पारी उनीहरूले बोकेको ७ वटा बोरा चेकजाँच गर्दा उक्त बोराभित्र टुक्रा– टुक्रा बनाई प्याकिङ गरेको टेलिफोनमा प्रयोग हुने केवल तार फेला परेको थियो ।

ती तार मोरङ बेलबारी बजार आसपासमा निर्माणाधीन अवस्थामा रहेको सडक तथा पुल भएको स्थानमा जमिनमुनि गाडेको ठाउँबाट उनीहरूले चोरी गरेको खुलेको छ । भारतको पानी ट्याङ्कीमा रहेको कवाडीको दोकानमा बिक्री गर्न उनीहरूले लैजान लागेका थिए ।

पक्राउ पर्नेहरूमा पश्चिम बङ्गाल, दार्जिलिङ जिल्ला पानी ट्याङ्की बस्ने  २४ वर्षीय महमद राजेश , ३२ वर्षीय राहुल अधिकारी,  नेपाल भारत सीमास्थित बतासी बस्ने २२ वर्षीय दिनबन्धु सरकार ,सोही ठाउँ बस्ने २४ वर्षीय शुबङ्कर दास  रहेका छन् । उनीहरूलाई दसीका सामानसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।

पछिल्लो समय झापा तथा मोरङका विभिन्न स्थानमा रातीको समयमा टेलिफोनको तार चोरी गर्ने घटना बढ्दै गएसँगै प्रहरीले यसबारेमा खोजबिन र गस्ती बढाएको थियो ।