• ७ वैशाख २०८२, आइतबार

नेपाली भूमि मिचेर तटबन्ध बनाउँदै

blog

नेपाली भूमि मिचेर भारतले तटबन्ध निर्माण गर्दै । तस्बिर : लोकेन्द्र जोशी

लोकेन्द्रप्रसाद जोशी 

दार्चुला, वैशाख ७ गते । दार्चुला सदरमुकाम खलङ्गामा रहेको नेपाली भूमिमा भारतले धमाधम तटबन्ध निर्माण गरिरहेको छ । दैनिक नेपाली भूमिमा भारतीय डोजर चलिरहँदा स्थानीय प्रशासन, जनप्रतिनिधि मौन रहेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् । 

२०७० को बाढीपछि महाकाली नदीले बहाब परिवर्तन गरेर पारी पुगेको नेपाली भूमिमा कब्जा जमाउँदै भारतले तटबन्ध निर्माणको काम गरिरहेको स्थानीयले बताएका छन् । २०७० भन्दा पहिले महाकाली नदी वारी रहेको र कानूनी रूपमा अहिले पनि नेपालकै नाम नक्सामा रहेको गल्फैस्थित बसपार्क महाकाली पारीको भूमिमा भारतले बाँध बाँधिरहेको स्थानीय अनिल ठगुन्नाले दाबी गर्नुभयो ।  

नेपालको झन्डै ५० रोपनी भूमि नदी पारी पुगेकोमा सो भूमिमा भारतले स्थानीय नागरिक र प्रशासनको अनुरोधलाई अटेर गरेर तटबन्ध बनाइरहेको हो । विगतमा स्थानीयले अवरोध गर्दा रोकिएको काम अहिले फेरि सुरु भएको अर्का स्थानीय कृष्ण धामीले बताउनुभयो । नापी विभागको टोलीले विगतमा नापजाँच गर्दा सो भूमि नेपालकै रहेको पाइए पनि नापीको रिपोर्ट नै सार्वजनिक नगरिएको स्थानीय सुन्दरसिंह धामीले बताउनुभयो । नापी विभागको अभिलेख सार्वजनिक गरेर नेपाली भूमिमा भारतले निर्माण गरिरहेको तटबन्धको काम तत्काल रोकिनुपर्ने उहाँको भनाइ छ । 

अहिले नदी सीमामा बगेको छैन, नागरिक अधिकारकर्मी कमलराज जोशीले भन्नुभयो, “२०७० सालको बाढीपछि गल्फैको महाकाली पारी पनि नेपालको भूमि छ । सो भूमिमा विगतमा नेपालको वन, भू संरक्षणलगायत कार्यालय र घर रहेकामा अहिले महाकालीले बहाब परिवर्तन गरेपछि भारतले अतिक्रमण गरिरहेको छ ।”  

भारतले नेपालको भूमि छोडेर मात्रै बाँध बाँध्नुपर्ने नागरिक समाज दार्चुलाका अध्यक्ष महेश भट्टको भनाइ छ । सार्वभौमसत्ता सम्पन्न नेपालमा भारतले यसरी सीमा मिचेर बाँध बाँधिरहेकोमा आपत्ति जनाउँदै उहाँले तत्काल काम रोक्न सरकारसँग अनुरोध गर्नुभएको छ । गृह मन्त्रालयलाई आवश्यक रिपोर्टिङ गरिएको र स्थानीय स्तरमा भारतीय प्रशासनसँग काम रोक्न लिखित र मौखिक रूपमा अनुरोध गरिए पनि सुनुवाई नभएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो । 

भारतलाई नेपाली प्रशासनमार्फत गरिएको अनुरोधमा बुफ्ने काम भइरहेको भन्दै अल्झाइएको पाइएको छ । काम रोक्नुको सट्टा मेसिन र जनशक्ति बढाएर काम भइरहेको छ, एक जना सुरक्षा अधिकारीले भन्नुभयो, “शनिबार पाँच वटा डोजर प्रयोग गरेर सो क्षेत्रमा काम गरिरहेको पाइएको छ ।” सरकारले कूटनीतिक रूपमा फेरि विवाद नआउने गरी यो विषय समाधान गर्नुपर्ने प्रजिअ पौडेलको भनाइ छ । 

नेपालतर्फ नदी तटीय क्षेत्रमा तटबन्ध निर्माणको काममा अवरोध गर्दै आएको भारतले पारीपट्टी तटबन्ध बनाउन नेपाली सीमामै पुगेर निर्माण सामग्री लैजाने र नदीको धार नेपालतर्फ फर्काउने काम विगतदेखि गर्दै आएको थियो । केही महिना पहिले भारतीय डोजर महाकाली तरेर खलङ्गामै आएपछि विवाद चर्किएको थियो । भारतले झन् अहिले गल्फै पारीको नेपाली भूमिमै बलमिच्याइँ गरेर बाँध बाँध्न थालेको छ ।