• ६ वैशाख २०८२, शनिबार

तनहुँमा हट्यो रासायनिक मलको अभाव

blog

कृषि सामग्री कम्पनी लिमिटेड दमौलीमा भण्डारण गरिएको रासायनिक मल । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, वैशाख ४ गते ।
तनहुँ, लमजुङ र गोरखाका कृषकले यस वर्ष रासयनिक मलको अभाव झेल्नु नपर्ने भएको छ । हरेक वर्ष अभाव खेप्दै कृषकले यसपटक भने माग अनुसार मल आएकाले अभाव झेल्नु नपरेको हो ।

तीन जिल्लाका लागि मल आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड दमौलीले पर्याप्त मल आपूर्ति गरिदिएपछि यस पटक मलको अभाव छैन । कोटा धेरै निर्धारण हुने तथा समयमा नै मल ढुवानी भएर आएकोले मलको अभाव नभएको कृषि सामग्री कम्पनी लिमिटेड दमौलीका शाखा प्रबन्धक दिनेश शर्माले जानकारी दिनुभयो ।

शर्माले भन्नुभयो, ‘‘माग अनुसारको मल आपूर्ति भएकाले मलको अभाव छैन, चाहे जति किसान किन्न पाएका छन् ।’’ बिगतमा एक जिल्लाका लागि चाहिने जति मल तीन जिल्लामा बाँड्नु परेकाले मलको अभाव भएकोमा यस वर्ष माग अनुसारको प्रयाप्त मल आएकाले समस्या झेल्नु नपरेको बताउनुभयो ।

विगतमा चैते धान र मकै छर्ने बेला मलको अभाव हुने गरेकोमा यस वर्ष अभाव नभएको शर्माले बताउनुभयो । शर्माले भन्नुभयो, ‘‘हामीले जति माग गरेका थियौं सोही अनुसारको मल पायौं यसपटक अभाव भएन ।’’

सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनी र साल्ट टेडिङले कर्पोरेसनले बजार मागअनुसार रासायनिक मल ल्याएकाले किसानले मलको अभाव झेल्नु नपरेको हो । तनहुँ, लमजुङ र गोरखाका लागि माग अनुसारको मल आएको शर्माले बताउनुभयो ।

शर्माका अनुसार तनहुँ र लमजुङका लागि एक हजार एक सय ८२ दशमलव ३५० मेट्रिक टन युरिया दुई सय ५१ दशमलव तीन सय मेट्रिकटन डिएपी, पोटास ४२ दशमलव दुई सय ५० मेट्रिक टन, पोटास ४२ दशमलव दुई सय ५० मेट्रिक टन र कृषि चुन २० दशमलव नौ सय मेट्रिक टन गरी एक हजार चार सय ९६ दशमलव आठ सय मेट्रिक टन बिक्री भएको छ । गोरखाका लागि भने भण्डारण गर्ने गोदामको अभावले गर्दा माग अनुसारको सिधै वीरगन्जबाटै ढुवानीको व्यवस्था गरिएको छ । 

शर्माले भन्नुभयो, ‘‘माग अनुसारको मल आएकाले किसानले पाएका छन् हामीलाई पनि तनाव भएको छैन ।’’ यस वर्ष चाहे अनुसारको मल किसानले पाउने लिमिटेडले जनाएको छ ।