रामकृष्ण बोहरा
बागलुङ, वैशाख २ गते । दक्षिण बागलुङको जैमिनी नगरपालिका ४ सर्कुवालाई पुर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि सर्कुवालाई पूर्ण खोपयुक्त वडा सुनिश्चितता घोषणा गरिएको हो ।
वडाका १५ महिनासम्मका ३१ जना र १६ देखि २३ महिनासम्मका २१ जना बालबालिकाले खोप लगाएका छन् । दस वटा वडा रहेको जैमिनीमा सर्कुवासँगै आठ वटा वडालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । नगर स्वास्थ्य शाखाका प्रमुख गोविन्दप्रसाद शर्मा आचार्यले बाँकी रहेका दुई वडालाई अब छिट्टै पूर्ण खोप सुनिश्चित वडा घोषणा गरी वैशाख महिनाभित्रै नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने योजना सुनाउनुभयो । जैमिनीका कुश्मीसेरा र बिनामारे पूर्ण खोप सुनिश्चित वडा घोषणा हुन बाँकी छन् ।
प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिने आचार्यले बताउनुभयो । खोपबाट धेरै किसिमका सङ्क्रमण तथा रोगबाट बच्ने भएकाले हरेक बालबालिकाले नछुटाएर खोप लगाउनुपर्ने उहाँको भनाइ छ ।
सर्कुवालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गर्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले अभियानको दिगोपन र निरन्तरताको लागि सजग रहन आग्रह गर्नुभयो । मातृशिशु मृत्युदर घटाउन प्रदेशले काम गरिरहेको चर्चा गर्दे पाठकले बालबालिकालाई तोकिएको समयमा खोप दिनुका साथै पोषणयुक्त खानाको प्रबन्धले मात्र उनीहरूलाई स्वस्थ्य र तन्दुरुस्त राख्न सकिने धारणा व्यक्त गर्नुभयो ।
मातृशिशु मृत्युदरमा कमि ल्याउन गण्डकी प्रदेशमा पहिलो पटक धौलागिरि प्रादेशिक अस्पतालमा ग्रामिण अल्ट्रासाउन्ड ट्रेनिङ साइट सञ्चालन गरिएको पनि मन्त्री पाठकले उल्लेख गर्नुभयो । ग्रामीण इलाकाका स्वास्थ संस्थाहरूमा ट्रेनिङ प्राप्त दक्ष स्वस्थ्यकर्मी परिचालन गरी भिडियो एक्सरेको माध्यमबाट गर्भवती आमाहरूको स्वास्थ्य जाँच गर्दा आमा–बच्चाको अवस्थाबारे पूर्वानुमान हुने र मातृशिशु मृत्युदर घटाउन सकिने मन्त्री पाठकको भनाइ थियो ।