भोजपुर, वैशाख २ गते । रामप्रसादराई गाउँपालिका–६ स्थित वैकुण्ठेमा ‘सुन्तला, कागती फलफूल’ सिकाइ केन्द्र स्थापना गरिएको छ । व्यावसायिक सुन्तला तथा फलफूलखेतीमा लागेका किसानलाई खेती प्रविधिको विषयमा अभ्यासमूलक सीप दिन यहाँ सिकाइ केन्द्र स्थापना गरिएको हो ।
वैकुन्ठे क्षेत्र सुन्तलासँगै फलफूल खेतीका लागि उपयुक्त रहेकाले वडाले बजेट विनियोजन गरेर सिकाइ केन्द्र स्थापना गरेको रामप्रसादराई–६ का वडाध्यक्ष एकराज आचर्यले बताउनुभयो । किसानलाई बाहिरका बिरुवाभन्दा पनि यहीँको हावापानी, भूगोल, माटो सुहाउँदो सुन्तलाका बिरुवा उत्पादन गर्ने लक्ष्यले नर्सरी स्थापना गरिएको वडाध्यक्ष आयर्चले बताउनुभयो । गत आर्थिक वर्षमा वडाले रु. एक लाख ५० हजार बजेट विनियोजन गरेर केन्द्र स्थापना गरेको उहाँको भनाइ छ ।
“वैकुन्ठेका अधिकांश किसानले व्यावसायिक सुन्तलासँगै फलफूलखेती गरिरहेका छन्”, वडाध्यक्ष आचार्यले भन्नुभयो, “कतिपय किसानलाई सुन्तला तथा फलफूल खेतीसम्बन्धी सामान्य जानकारी नहुँदा समस्या पनि देखिन्छ । किसानलाई सुन्तला, कागतीलगायत खेती प्रणालीको विषयमा प्रयोगात्मक रूपमा जानकारी दिन सिकाइ केन्द्र स्थापना गरेका हौँ ।”
केन्द्रमा किसानको सक्रियतामा सुन्तलाकाे नर्सरी स्थापना गरिएको छ । दुईवटा टनेलमा सुन्तलाका बिरुवा उत्पादन गरिएको स्थानीय राजेन्द्रकुमार राईले बताउनुभयो । नर्सरीमा उत्पादन भएका बिरुवा किसानलाई वितरण गरिने उहाँको भनाइ छ । आफ्नै ठाउँमा सिकाइ केन्द्रबाट सुन्तलासँगै फलफूल खेतीको विषयमा आवश्यक प्राविधिक ज्ञान लिन सहज भएको उहाँले बताउनुभयो ।
“सिकाइ केन्द्रमार्फत हामीले सुन्तलाका बिरुवा पनि उत्पादन गरेका छौँ”, उहाँले भन्नुभयो, “हामीले कृषि प्राविधिकको प्रत्यक्ष निगरानीमा खेती प्रविधिको विषयमा जानकारी लिन पाएका छौँ । सुन्तला, कागतीमा रोग, कीरा देखिएमा कसरी निराकरण गर्ने भन्ने पनि सिक्ने अवसर पाएका छौँ । सिकाइ केन्द्रबाट अभ्यासमूलक ज्ञान लिन सहज छ ।”
सिकाइ केन्द्रका माध्यमबाट किसानलाई खेती प्रविधिको विषयमा जानकारी दिने कार्य भइरहेको गाउँपालिका कृषि शाखा प्रमुख धिरज ठाकुरले बताउनुभयो । किसानलाई सिकाइ केन्द्रमा बोलाएर अभ्यास गराएर नै खेती प्रविधिका बारेमा जानकारी दिने गरिएको उहाँको भनाइ छ । “किसानलाई बढी मात्रामा लाग्ने रोग, कीरा प्रकोप र खेती प्रविधिका बारेमा जानकारी दिन्छौँ”, उहाँले भन्नुभयो, “एकसाथ अभ्यास गराएर सिकाइने भएकाले कार्यक्रम किसानका लागि उपयुक्त देखिएको छ ।” रासस