ताप्लेजुङ समाचारदाता
ताप्लेजुङ, वैशाख २ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा ढकमक्क गुराँस फुलेको छ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका, फक्ताङ्लुङ र सिरिजङ्घा गाउँपालिकाको सङ्गम स्थलमा पर्ने तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरा क्षेत्रमा चैत पहिलो सातादेखि गुराँस फुल्न थालेको हो । पाथीभरा पदमार्ग अन्तर्गत बलुडाँडा, गुराँसे र फेदी क्षेत्रमा ढकमक्क गुराँस फुलेर यहाँको दृश्य मनमोहक बनेको छ ।
गुराँसको मनमोहक दृश्यमा रमाउन पाइने हुँदा हिजोआज पाथीभरा दर्शनका लागि भक्तजन तथा धार्मिक पर्यटकको बाक्लो उपस्थिति हुने गरेको स्थानीयले बताएका छन् ।
माथिल्लो फेदीका स्थानीय होटेल व्यवसायी राजेन्द्र महतले पाथीभराको दर्शनसँगै गुराँस फूलको आकर्षणले धार्मिक पर्यटकको उपस्थिति बाक्लिँदा व्यवसाय पनि राम्रै फस्टाउने गरेको बताउनुभयो । उहाँका अनुसार पाथीभरा दर्शनमा आएका भक्तजन तथा पर्यटक मनमोहक गुराँसमा झुम्मिने गरेका छन् । हाल फुलेको गुराँस वैशाख दोस्रो सातासम्म रहने स्थानीय बताउँछन् ।
नेपालमा पाइने ३२ प्रजातिमध्ये पाथीभरा क्षेत्रमा २६ प्रजातिका गुराँस पाइने गरेको छ । यस क्षेत्रमा रातो, सेतो, पहेँलोसहित विभिन्न रङका गुराँस पाइन्छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार रातो चिमाल, चियाफुले, निलो चिमाल, जुँगे चिमाल, लहरे चिमाललगायत प्रजातिका गुराँस पाइन्छन् । तीमध्ये अधिकांश गुराँस विषालु हुने भएकाले नटिप्न र नछुन पनि हाङ्बाङले सबैलाई आग्रह गर्नुभएको छ ।