• ५ जेठ २०८२, सोमबार

सरकारले योग्य गभर्नर नियुक्त गर्छ : अर्थमन्त्री

blog

तानसेन समाचारदाता

तानसेन, चैत ३१ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गभर्नर नियुक्तिको विषयमा बाहिर आएको नकारात्मक हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले शनिबार तानसेनमा गरेको पत्रकार भेटघाटमा उहाँले सरकारले योग्य र अनुभवी गभर्नर नियुक्त गर्नका लागि आवश्यक परामर्श गरिरहेको उल्लेख गर्नुभयो । 

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट बनाउने काम सुरु भएको र प्रतिफल दिने किसिमको बजेट ल्याउने जानकारी दिनुभयो । “यस पटकको बजेट प्रतिफल दिने खालको हुन्छ, निजी क्षेत्र र उत्पादनको क्षेत्रलाई प्राथमिकता दिने काम हुन्छ,” उहाँले भन्नुभयो । 

मन्त्री पौडेलले सरकारी क्षेत्रको वित्तीय व्यवस्थापनमा सरकारले विशेष ध्यान दिएको बताउनुभयो । आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने, भ्रष्टाचार न्यूनीकरण, सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको र सोही अनुसार काम गरिरहेको उहाँले जानकारी दिनुभयो । 

फरक प्रसङ्गमा अर्थमन्त्री पौडेलले राजनीतिक स्थायित्वका लागि दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाएको बताउनुभयो । 

विगतमा साना दलकै कारण अस्थिरता निम्तिएको बताउँदै उहाँले ठुला दल मिलेर बनेको सरकारले जनताको पक्षमा काम गरिरहेको जिकिर गर्नुभयो । “जनतामा तीव्र विकास र समृद्धिको आकाङ्क्षा छ, त्यसलाई पूरा गर्न राजनीतिक स्थायित्व आवश्यक भएकाले ठुला दल मिल्नु परेको हो,” उहाँले भन्नुभयो । एमालेका उपाध्यक्षसमेत रहनुभएका पौडेलले वर्तमान सरकार २०८४ सालको निर्वाचनसम्मै सहकार्यमा अघि बढ्ने दाबी गर्नुभयो । 

यस्तै उहाँले राजावादीको नाममा दिशाहीन आन्दोलन सफल नहुने बताउनुभएको छ । उहाँले राजनीतिक विचारविहीनहरूले राजा ल्याउँछु भनेर गरेको आन्दोलन अराजक र हिंसात्मक भएको टिप्पणी गर्नुभयो । “जता काफल पाक्यो, उतै चरी नाच्यो जस्ता विचारविहीन आन्दोलनलाई सरकारले ठेगान लगाउँछ,” उहाँले भन्नुभयो । 

अहिले केही समूह मुलुकमा अस्थिरता सिर्जना गर्न सकिन्छ कि भनेर राजावादीको नाममा लुटपाट, तोडफोड र हत्यामा लागेको दाबी गर्दै उहाँले त्यस्ता गतिविधिलाई सरकारले हेरेर बस्न नसक्ने बताउनुभयो । विचारबिनाको राजनीति र आन्दोलन सफल नहुने उल्लेख गर्दै उपप्रधान एवं अर्थमन्त्री पौडेलले त्यस्ता गतिविधि जनताका लागि स्वीकार्य नहुने धारणा राख्नुभयो ।