काठमाडौँ, चैत ३० गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय एकतालाई सुदृढ गर्ने बेला आएको बताउनुभएको छ । विभिन्न पार्टी परित्याग गरी मोओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यक्रर्तालाई स्वागतका लागि आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले राजनीतिकरूपमा भएका परिवर्तनको रक्षा गर्दै उपलब्धिलाई परिमार्जन र विकसित गर्नुपर्ने समय आएको बताउनुभएको हो ।
आफ्नो पार्टी सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुहाउँदो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा रहेको उल्लेख गर्दै तथा पूर्वप्रधानमन्त्री दाहालले त्यसका लागि निर्वाचन प्रणाली सुधार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा आफ्नो तेस्रो प्रधानमन्त्रीकालमा अभियान छेडेको उल्लेख गर्दै भारत र चीनसँगको सम्बन्धसमेत मजबुद बनाएको बताउनुभयो । अध्यक्ष दाहालले वर्तमान सरकारको गतिविधिबाट पछिल्लो समय जनआक्रोश बढ्दै गएको भन्दै यस परिस्थितिमा राष्ट्रिय एकता र परिवर्तनको रक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । रासस