• ६ वैशाख २०८२, शनिबार

अझै भेटिएनन् अन्नपूर्णको हिउँपहिरोमा बेपत्ता निग्मा र रिमा

blog

म्याग्दीको अन्नपुर्ण गाउँपालिका–४,स्थित अन्नपूर्ण हिमाल । तस्बिर : सेभेन समिट ट्रेक

साधन घर्ती 

म्याग्दी (दरबाङ),चैत ३० गते । अन्नपूर्ण हिमालको हिउँपहिरोमा बेपत्ता दुई जना आरोहीका सहयोगीको खोजीकार्य स्थगित भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित अन्नपूर्ण प्रथम (८०९१ मिटर) अग्लो अन्नपूर्ण हिमालको क्याम्प २ देखि माथिको पाँच हजार ६१३ मा हिउँपहिरोमा परी सोलुखुम्बुका निग्मा तासी र रिमा रिन्जे गत चैत २५ गते बिहानदेखि सम्पर्कविहिन हुनुभएको थियो । 

मौसम खराबीको कारण हाल केही समयका लागि खोजीकार्य स्थगित गरिएको सेभेन समिट ट्रेकले जनाएको छ । पहिरोमा बेपत्ताकाको खोजीका लागि ५ शेर्पाहरूको सहयोगमा २ वटा खोज हेलिकाेप्टर तैनाथ गरिएको थियो । 

हिँउपहिरोमा हराएपछि निरन्तर हेलिकोप्टरबाट खोजी र उद्धार कार्य भए पनि फेला पार्न नसकिएको सेभेन समिट ट्रेकले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेको छ । सेभेन समिटले सामाजिक सञ्जाल फेसबुक पेजमा लेखेको छ,‘‘हामीले अथक प्रयास गर्दा पनि फेला पार्न सकेनौ, हिउँ र बरफको ढिस्कोमुनि अब यति लामो समयसम्म बाँच्न सम्भव छैन ।"

हेलिकाेप्टर, ड्रोन क्यामेरा सहित अन्य उपकरणहरू समेत प्रयोग गरिएको थियो । बेपत्ता निग्मा तासी र रिमा रिन्जेको टोलीसँगै आरोहणका लागि क्याम्प ३ मा पुगेका ४ जना आरोहीहरूलाई हेलिकोप्टरको सहयोगबाट आधार शिविर झारिएको छ । 

हिँउपहिरोका कारण अन्नपूर्णको चुचुरोमा पुग्ने बाटो र ठाउँठाउँमा राखिएका यात्राका लागि सहज हुने भर्‍याङसहित डोरी र अन्य संरचनाहरू समेत छियाछिया भएकाले थप तयार गरी आरोहण गर्नुपर्ने अवस्था रहेको अन्नपूर्ण आधार क्षेत्रमा रहेका आरोही दलका सदस्यहरूको भनाइ छ । यसै साता सोमबार बिहान एकैपटक ३२ जनाले हिमाल आरोहण गर्न सफल भएका थिए । 

पर्यटन विभागका अनुसार वसन्तयामका लागि चार समूहका ३० जना पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका छन् । नेपालमा रहेका हिमालहरु मध्ये जोखिममा अन्नपूर्ण पनि पर्छ । सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले पहिलो पटक आरोहण गरेको  अन्नपूर्ण प्रथमलाई नेपालको जेठो हिमाल भनिन्छ । विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये दशौं स्थान (८०९१ मिटर)मा पर्ने अन्नपूर्ण प्रथमसम्मको पदमार्ग अहिले म्याग्दीको प्रमुख गन्तव्य बन्दै छ ।