सिराज खान
नेपालगन्ज, चैत २९ गते । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्म भ्रष्टाचार र अनियमितताका ३७५ वटा उजुरी परेका छन् ।
बाँके, दाङ्ग, बर्दिया र रोल्पा गरेर चार जिल्लाको कार्यक्षेत्र रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगन्जस्थित सम्पर्क कार्यालयमा चालु आर्थिक वर्षको हालसम्म भ्रष्टाचार र अनियमितताका ३७५ वटा उजुरी परेको सम्पर्क कार्यालयका सूचना अधिकारी झलक केसीले बताउनुभयो ।
उहाँले दिनु भएको जानकारी अनुसार चालु आवको साउन महिनामा सबैभन्दा बढी ७१ वटा उजुरी परेका थिए भने भदौमा ४१, असोजमा ३१, कात्तिकमा २८, मङ्सिरमा ३७, पुसमा ४०, माघमा ३१, फागुनमा ५३ र चैतको हालसम्म ४३ वटा उजुरी परेका छन् ।
ती उजुरीहरु विभिन्न माध्यमबाट परेको जनाउँदै सूचना अधिकारी केसीले अधिकांश उजुरीहरू छानबिनको प्रक्रियामा रहेको र केही उजुरीहरु बिना प्रमाण समेत प्राप्त भएको बताउनुभयो ।
अख्तियार अनुसन्धान आयोगमा परेका उजुरीहरू मध्ये अधिकांश उजुरी स्थानीय तहमा बेथिति भएको भनि परेको जनाउँदै सूचना अधिकारी केसीले उजुरीहरुमा विभिन्न प्रकारका अनियमितताहरू उल्लेख गरिएको बताउनुभयो ।
अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जका अनुसार सो कार्यालयमा परेका उजुरीहरूमा अधिकांश उजुरी बजेट निर्माणदेखि खर्च गर्दासम्म गरिएको अनियमितता, आफ्नो स्वार्थ पुरा गराउन बजेट तयार पार्ने गरिएको, खरिद ऐन विपरित कार्य गरेको, पाठ्यपुस्तक र दिवा खाजामा अनियमितता गरिएको र उपभोक्ता समितिबाट नगराउने काम पनि गराइएको र घुस लिइएको जस्ता उजुरीहरू रहेका छन् ।
केही उजुरीहरूमाथि लामो समय लगाएर छानबिन र अनुसन्धान गर्नुपर्ने देखिएकाले त्यस्ता केही उजुरीहरू बर्सेनि सर्दै आएको पनि आयोगको सम्पर्क कार्यालयले जनाएको छ ।
अख्तियारमा परेको सोही प्रकारको एक उजुरीको आधारमा नेपालगन्जस्थित यातायात कार्यालयमा छापा मार्दा आयोगले हालै मात्र नक्कली सवारी चालक अनुमति पत्र बनाएर मासिक तीन करोड रुपियाँसम्म असुली गर्ने चार जनालाई पक्राउ गरेको थियो ।