• ५ वैशाख २०८२, शुक्रबार

धरानमा १० औं बास्केटबल ट्यालेन्ट हन्ट हुने

blog

निशा राई 

धरान, चैत २९ गते । १० औं बास्केटबल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प यहि वैशाख ३ गतेदेखि सुरु हुने भएको छ । 

धरान बास्केटबल सङ्घको आयोजना, सुनसरी बास्केटबल सङ्घको प्राविधिक सहयोग तथा धरान उपमहानगरपालिकाको संयोजनमा वैशाख ३ गते देखि सुरु हुने आयोजकले जानकारी दिएको छ । बास्केटबल खेल विकास तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले बास्केटबल सङ्घले नियमित रूपमा ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्पको आयोजना गर्दै आइरहेको छ । 

विशेषगरी एसइइ दिएका विद्यार्थी लक्षित कार्यक्रम भएपनि बास्केटबल सिक्न इच्छुक सबैलाई प्रशिक्षण क्याम्पमा सहभागी गराइने सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीले जानकारी दिनुभयो । ट्यालेन्ट हन्टमा सहभागी एसइई दिएका उत्कृष्ट विद्यार्थी खेलाडीहरूलाई भने धरानका विभिन्न कलेजमा छात्रवृती सिफारिस गरिने बास्केटबल सङ्घले जानकारी गराएको छ ।

यसअघि ९ औं ट्यालेन्ट हन्टका करिब दुई दर्जन महिला पुरुष विद्यार्थीलाई धरान मेघा हिमालयन कलेज र डिपो स्कुललमा कक्षा ११ र १२ कक्षाका लागि छात्रवृतीमा सिफारिस गरेको अध्यक्ष सुवेदीले बताउनुभयो । अहिले उनीहरू विद्यालयबाट बास्केटबल खेल्दै अध्ययन समेत गरिरहेको उहाँले बताउनुभयो । सङ्घले अहिलेसम्म दुई सयभन्दा बढी खेलाडी विद्यार्थीलाई निशुल्क छात्रवृतिमा अध्ययन गराइसकेका छन् । 

प्रशिक्षण क्याम्प धरान १६ स्थित धरान रङ्गशालामा रहेको इन्डोर बास्केटबल कोर्टमा सम्पन्न हुनेछ । बिहान ६ बजे देखि ८ बजेसम्म चल्ने प्रशिक्षण क्याम्पमा सहभागीहरूलाई राष्ट्रिय बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई, राष्ट्रिय बास्केटबल खेलाडी डा.आशा राई, कोशी प्रदेश बास्केटबल खेलाडी सुसन श्रेष्ठ, दिवस राई, आस्था राई, एल्भिना गुरुङ्ग, निवा लिव्वु, शीतल तामाङ, युगल लिम्बू, चिरञ्जिवि गिरि लगायतले प्रशिक्षण दिने र प्रशिक्षण क्याम्प तीन हप्तासम्म चल्ने आयोजकले जनाएको छ ।