• ४ वैशाख २०८२, बिहिबार

संरक्षणको पर्खाइमा सैनिक पार्क

blog

तस्बिर : नवराज श्रेष्ठ डढेलोमा ज्यान गुमाएका सैनिकको सम्झनामा निर्माण भएको पार्क ।

नवराज श्रेष्ठ

रामेछाप, चैत २७ गते  । वनमा लागेको डढेलो निभाउने क्रममा ज्यान गुमाएका सेनाको सम्झनामा निर्माण भएको पार्क अहिले अलपत्र परेको छ । १५ वर्षअघि रामेछापको वादीपाखा वनमा लागेको डढेलो निभाउने क्रममा जलेर मृत्यु भएका १३ जना नेपाली सेना जवानको सम्झनामा निर्माण भएको पार्क प्रयोगविहीन बनेको हो । उक्त स्मृति पार्क उद्घाटन हुन नसकेर अलपत्र बनेको छ । 

आर्थिक वर्ष २०७९/८० मा डिभिजन वन कार्यालय रामेछापको २५ लाख रुपियाँ बजेटबाट पार्क निर्माण  गरिएको तर उद्घाटन हुन नसकेका कारण सञ्चालनमा नआएको स्थानीय बद्रीप्रसाद घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पताललाई डढेलोबाट जोगाउनका लागि आगो निभाउने व्रmममा १३ जना नेपाली सेनाका जवानले ज्यान गुमाए । यो घटना नेपालममा एउटा भयानक आगलागीजन्य घटनामा पर्छ तर यसरी ज्यान गुमाएका सैनिकको सम्झनामा बनाइएको पार्क उद्घाटनसमेत हुन नसक्दा अलपत्र बनेको छ ।” 

पार्क सञ्चालन गर्ने विषयमा डिभिजन वन कार्यालय, रामेछाप नगरपालिका र नेपाली सेना एकले अर्कोलाई दोष दिँदै आएको छ । जिम्मेवार निकायको यस्तो प्रवृत्तिले आगो निभाउने प्रयास गर्दागर्दै ज्यान गुमाएका सैनिकको योगदानको अवमूल्यन र अपमान भएको छ । उपभोक्ता समितिबाट निर्माण भई हस्तान्तरण भइसकेको यो पार्क डिभिजन वन कार्यालय रामेछाप, नेपाली सेना र स्थानीय सरकारको बिचमा कुरा नमिलेकै कारण सञ्चालनमा आउन नसकेको अर्का स्थानीय जीवन श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “पार्कको रेखदेख हुन नसक्दा यहाँ बनाइएका संरचना भत्किन थालिसकेको छ ।

स्मृति पार्क उद्घाटन हुन नसक्नु राम्रो विषय नभएको डिभिजन वन कार्यालय रामेछापका प्रमुख उमाशङ्करप्रसाद जयसवालले बताउनुभयो । उहाँले डिभिजन वन कार्यालयले २५ लाख रुपियाँ बजेटमा निर्माण गरेको यो पार्क उद्घाटन गर्ने विषयमा कार्यालयको कुनै दाबी तथा विरोध नरहेको बताउनुभयो । रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले पार्क बनेपछि तत्कालीन समयमा नेपाली सेनाकै कारण उद्घाटन हुन नसकेको टिप्पणी गर्नुभयो । पार्क सञ्चालन गर्ने कुरामा नगरपालिकाको कुनै रोकावट छैन तर उक्त पार्क उद्घाटन भने नगरपालिकाबाटै हुनु पर्छ भन्ने हाम्रो कुरा हो ।”

२०६६ साल वैशाख १० गते बिहीबार रामेछाप नगरपालिका–८ स्थित वादीपाखा सामुदायिक वन क्षेत्रमा भिषण डढेलो लागेको थियो । फैलिँदै गएको डढेलोले रामेछाप अस्पताल उच्च जोखिममा परेपछि नियन्त्रण लिन नजिकै रहेको श्रीजङ्ग गणबाट नेपाली सेनाको टोली खटिएको थियो । डढेलो निभाउने क्रममा चारैतिरबाट डढेलो लागेपछि १३ जना नेपाली सेनाको जङ्गलमै जलेर ज्यान गएको थियो ।