• ६ वैशाख २०८२, शनिबार

खानेपानी आयोजना निर्माण हुँदै

blog

तस्बिर :शालिग्राम नेपाल भरतपुर महानगरपालिकाको वडा नं. ३ खानेपानी ट्याङ्की निर्माण स्थल ।

चितवन समाचारदाता

चितवन, चैत २७ गते । भरतपुर महानगरको व्यस्त नारायणगढ बजार क्षेत्रमा खानेपानीको अभाव भएपछि नयाँ परियोजना सुरु भएको छ । यहाँ रहेको खानेपानीको ट्याङ्कीले पानी नपुगेपछि नारायणगढको बेलचोक सहलगानी खानेपानी आयोजनामार्फत निर्माण गर्न लागिएको हो । 

बिहान केही समय मात्र पानी आउने, कहिलेकाहीँ मात्र आउने गर्दा स्थानीयदेखि व्यावसायिक बजार क्षेत्रमा पानीको अभाव हुने गरेको छ । भरतपुर महानगरपालिका वडा नं. ३ का अध्यक्ष विकास थापाले भन्नुभयो, “पानीको अभाव हुन थालेपछि मात्र निर्माणको प्रव्रिmया अगाडि बढेको छ । यसोभन्दा पनि नौलो लाग्छ तर बजार क्षेत्रमा पानीको अभाव भएको धेरै वर्ष भयो ।” उहाँले अहिले ठेक्काको प्रव्रिmयामा अगाडि बढेको जानकारी दिनुभयो । यस वडामा चार हजार सात सय घरधुरी सङ्ख्या रहेको छ । अस्थायी र स्थायी गरी दुई लाख जनसङ्ख्या रहेको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । 

साढे चार लाख लिटरको ट्याङ्की निर्माणका लागि २० करोड रुपियाँको आयोजना रहेको छ । ७० प्रतिशत नेपाल सरकार र ३० प्रतिशत बोर्डको लगानीमा आयोजना निर्माण हुने भरतपुर खानेपानी बोर्डका कार्यकारी निर्देशक सञ्जय बरालले जानकारी दिनुभयो । उहाँँले भन्नुभयो, “ठेक्काको प्रव्रिmया अगाडि बढेको आयोजना दुई वर्षभित्र सम्पन्न गर्ने गरी काम हुने छ । सहलगानीको मोडलमा काम अगाडि बढेको यस आयोजनामा बोर्डले १० प्रतिशत रकम जम्मा गरिसकेको छ । आयोजना सुरु हुनुभन्दाअगाडि नै ३० प्रतिशत रकमको १० प्रतिशत रुपियाँ पहिला नै लगानी गर्नु पर्दछ ।” वडा नं. २ सहिद चोक नारायणगढका स्थानीय खोमकान्त रेग्मीले वडामा वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “खानेपानीको अभावमा जारको पानी खरिद गरेर खानुपर्ने बाध्यता रहेको छ ।” 

पानीको अभाव भएपछि साढे चार लाख लिटर अटाउने ट्याङ्की निर्माणको प्रव्रिmया अगाडि बढेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय भरतपुरका इन्जिनियर चिरञ्जीवी सेढाईंले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यहाँ मानिसको चाप बढ्दो छ । त्यसैले ठुलै परियोजना थालेका हौँ ।”

ट्याङ्की निर्माणपछि पाइप बिछ्याउने काम अगाडि बढ्ने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयले जानकारी दिएको छ । वडाको मागलाई पूरा गरेमा छिमेकी ४ नम्बर वडाका केही भागमा समेत वितरण गर्ने लक्ष्य लिएको छ । वडा नंं ३ को कार्यालयनजिक नारायणी किनारको वन क्षेत्रमा ट्याङ्की निर्माण गरिँदै छ । खानेपानीको अभाव भएको भरतपुर महानगर–८, गौरीगन्ज क्षेत्रमा पनि आयोजना अगाडि बढाइएको छ । यहाँ ३० करोड रुपियाँको लागतमा आयोजना अगाडि बढेको भरतपुर खानेपानी बोर्डका कार्यकारी निर्देशक बरालले जानकारी दिनुभयो । यसको विस्तृत अध्ययन हुँदै छ ।