• ४ वैशाख २०८२, बिहिबार

फूल बिक्री नहुँदा किसान चिन्तित

blog

धनुषाको तेजनगरमा मानकुमारी माली उत्पादन गर्नुभएको फूल खेतमै ओइलिँदै । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, चैत २६ गते । धनुषाको धनुषाधाम नगरपालिका–३, तेजनगरकी मानकुमारी भण्डारीले वार्षिक १५ हजार रुपियाँमा १०  कट्ठा जमिन भाडामा लिएर गेंदा फूल खेती गर्दै आउनुभएको छ । उहाँले खेत जोत्नेदेखि बिरुवा रोप्ने, मल हाल्ने, सिँचाइ गर्ने लगायतका काममा वार्षिक झण्डै ५० हजार रुपियाँ खर्च गर्नुहुन्छ । तर उहाँले उत्पादन गर्नुभएको फूल बिक्री नहुँदा खेतमै ओइलिन थालेको छ।

उहाँका श्रीमान् विष्णुदेव माली वैदेशिक रोजगारीमा जानुभएको छ । मानकुमारीको दुई छोरा र एक छोरीसहित परिवारको गुजारा जेनतेन चलेको छ । उहाँले भन्नुभयो, “फूल बिक्री भए केही राहत हुन्थ्यो तर अहिले त बजारमै फूल बिक्दैन ।” हामीले उत्पादन गरेको फूल बजारमा नबिक्नुको मुख्य कारण भारतबाट तस्करी भएर आउने फूल रहेको उहाँको भनाइ छ । 

मानकुमारीका अनुसार फूल खेतीबाट आउने आम्दानीले छोराछोरीको पढाइ र खानपिनको जोहो त हुन्छ तर बचत भने हुन सक्दैन । “भारतबाट फूल नआउने हो भने हाम्रो फूलले पनि राम्रो बजार पाउँथ्यो त्यसो भएको भए श्रीमानलाई पनि विदेश जानु पर्दैनथ्यो,” उहाँले भन्नुभयो । उहाँले भारतको कलकत्ता, पटना, दरभङ्गाजस्ता स्थानबाट सस्तोमा फूल नेपाल भित्रिने गरेको बताउनुभयो । जिल्लामा फूलको मुख्य बजार जनकपुरधाम रहेको बताउँदै त्यहाँका व्यापारीले पनि सीमा पारबाट फूल ल्याउने गरेकाले यहाँको उत्पादनले मूल्य नपाएको गुनासो सुनाउनुभयो । 

आफूले उत्पादन गरेको फूल धनुषधामस्थित धनुष मन्दिर नजिकै फूलको माला बनाएर बेच्ने गरेको मानकुमारीले बताउनुभयो । फूल उत्पादन र बेचबिखनमा जेठो छोरा रविन्द्र मालीले सघाउने गरेको उहाँले बताउनुभयो । 

उहाँको जेठो छोरा रविन्द्रले भारतबाट अवैध तरिकाले आयात हुने फूलका कारण यहाँका फूल उत्पादक निराश बनेको बताउनुभयो । उहाँले आफूले उत्पादन गरेको फूल बिक्न छोडेपछि धनुष मन्दिर अगाडि माला बनाएर बेच्ने गरेको बताउँदै एउटा माला २० देखि ४० रुपियाँमा बिक्री हुने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले उत्पादन गरेको फूल त खेतमै सड्छ भारतबाट आएको फूलचाहिँ बजारमा बिक्री हुन्छ ।” 

स्थानीय चन्दन भण्डारीले अनुसार धनुषाधाम क्षेत्रमा करिब सात÷आठ जना किसानले १०  कट्ठादेखि एक बिघासम्म जमिनमा व्यावसायिक फूल खेती गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “भारतबाट आउने फूलले यहाँ उत्पादन भएको फूलले बजारमा स्थान पाउन सकेको छैन । जबसम्म अवैध फूल आयात रोकिँदैन तबसम्म यहाँको किसानको अवस्था सुधार हुँदैन ।” 

यसैगरी, सबैला नगरपालिका–९, सतोषरका रविन्द्र मालीले पनि गेंदा फूल खेती गर्दै आउनुभएको छ । करिब एक बिघा खेतमा उहाँले गेंदा फूल लगाउनुभएको छ तर बजार अभावका कारण फूल बिक्री नभएपछि  बोट नै उखेल्ने सोच बनाउनुभएको छ । “फूल बजार जनकपुरधाम हो तर त्यहाँ भारतीय फूल सस्तोमा आयात हुन्छ जसले गर्दा हाम्रो फूल कसैले किन्दैन,” उहाँले दुखेसो पोख्नुभयो । 

स्थानीय सञ्चारकर्मी मुकेशकुमार ठाकुरले भारतबाट तस्करी भएर आउने सस्तो फूलले गर्दा स्थानीय किसानको फूल बजारमा ओझेलमा परेको बताउनुभयो । उहाँका अनुसार यसले गर्दा स्थानीय फूल उत्पादनक किसान आर्थिक रूपमा प्रभावित भइरहेका छन् । फूल नबिकेपछि खेतमै ओइलिने अवस्था सिर्जना भएको छ । जसले किसानहरूको मनोबलसमेत कमजोर बनाएको उहाँको भनाइ छ ।