शंकर केसी,
शारदा (सल्यान), चैत २५ गते । कर्णालीका केही जिल्लामा मात्र पाइने बहुउपयोगी वनस्पति काकडसिङ्गीको संरक्षणका लागि सल्यानमा अभियान चलाइएको छ । यो वनस्पति दुर्लभ अवस्थामा पुगेपछि वनस्पति अनुसन्धान केन्द्र सल्यानले खोजी र संरक्षणको अभियान सञ्चालन गरेको हो ।
वनस्पति अनुसन्धान केन्द्रको ६५ औँ वार्षिकोत्सव तथा २६ औं वनस्पति दिवसको अवसर पारेर “काकडसिङ्गी कप खुला ब्याडमिन्टन प्रतियोगिता” र अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डाक्टर मित्रलाल पाठकले जानकारी दिनुभयो । "सल्यान सहित कर्णालीका केहि जिल्लामा मात्र पाइने काकडसिङ्गी एक बहुउपयोगी वनस्पति हो", उहाँले भन्नुभयो, "तर यसको सङ्ख्या घटेर दुर्लभ अवस्थामा पुगेपछि वनस्पति विभाग अन्तर्गतको वनस्पति अनुसन्धान केन्द्र सल्यानले यसको खोजी र संरक्षणमा अभियान नै चलाएको हो ।"
अभियान अन्तर्गत सोमबार देखी जिल्लाको कपुरकोट गाउँपालिकामा “काकडसिङ्गी कप खुला ब्याडमिन्टन प्रतियोगिता” सुरु भएको छ । गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले प्रतियोगिताको उद्घाटन गर्दै औषधीय दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण मानिएको काकडसिङ्गी संरक्षणका लागि खेलजस्तो सिर्जनात्मक माध्यमबाट जनचेतना फैलाउने प्रयास उदाहरणीय रहेको उल्लेख गर्नुभयो । प्रतियोगितामा १४ टिम सहभागी छन् । २८ गते सम्म चल्ने प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो स्थान ल्याउने टिमले क्रमशः १० हजार, आठ हजार र पाँच हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने छन् ।
सोमबार नै काकडसिङ्गीको महत्त्व र संरक्षणका लागि अन्तर्क्रिया पनि सम्पन्न भएको वनस्पति अनुसन्धान केन्द्रले जनाएको छ । ठाउँ अनुसार काकडसिङ्गी धेरै नामहरूबाट चिनिने गरेको जनाउँदै केन्द्रका प्रमुख डाक्टर पाठकले काकडसिङ्गीमा राइबोफ्लोबिन, एस्कॉर्बिक एसिड, कैरोटेन, निकोटिन एसिड, ग्लुटामाइन, ल्युटियोलिन, पिपेकोलिक, मोमोरडिन जस्ता तत्व पाइने जानकारी दिनुभयो ।
यसले चिसोले हुने रुघा खोकी, ज्वरो, श्वासप्रश्वासको समस्या, दम, रक्तपित्त, रक्तदोष, रक्तचाप नियन्त्रण, बाल रोग, यौन दुर्वलता, प्रजनन समस्या समेत समाधान गर्ने बताउनुभयो ।