• २५ चैत २०८१, सोमबार

दुर्गम गाउँ लिस्तिमा आधुनिक स्वास्थ्य चौकी

blog

भारतीय दूतावासको सहयोगमा भोटेकोशी गाउँपालिका–१ लिस्तिकोटमा नवनिर्मित स्वास्थ्य चौकी । तस्बिर : चित्र मिजार

चित्र मिजार
सिन्धुपाल्चोक, चैत २५ गते ।
सिन्धुपाल्चोककै अति दुर्गम गाउँ भोटेकोशी गाउँपालिका–१ लिस्तिमा आधुनिक स्वास्थ्य चौकी भवन निर्माण भई सञ्चालनमा आएको छ । भारतीय दूतावासको एक करोड ८७ लाख आर्थिक सहयोगमा लिस्तिमा आधुनिक स्वास्थ्य चौकी निर्माण भएको हो ।

प्राथमिक उपचारका लागि उक्त स्वास्थ्य केन्द्र स्वास्थ्य उपचार प्रदान गर्ने छ । गाउँमै प्राथमिक स्वास्थ्य उपचार पाउने भएपछि स्थानीयहरु घण्टौं लगाएर बाह्रबिसे, धुलिखेल पुग्नुपर्ने बाध्यता हटेको वडा अध्यक्ष साङबु लामाले जानकारी दिनुभयो । उक्त स्वास्थ्य चौकीबाट जनरल रोगहरुसहित ल्याब, प्रसुती, क्षयरोग, खोप, गाउँघर क्लिनिक, पोषण कार्यक्रम, स्वास्थ्य शिक्षा जस्ता स्वास्थ्य उपचार र औषधी प्रदान गरिने उहाँले बताउनुभयो । सुत्केरी बेथा लागेका, सुत्केरी भएका तथा त्यसका कुरुवाहरुका लागि पनि खाना, बस्ने सुविधासहितको ‘आमा घर’ व्यवस्था गरिएको छ ।

उक्त भवनमा नर्स बस्ने कोठा, प्रसुती कोठा, ल्याब स्टोर, बहिरङ सेवा लगयातका कोठाहरु निर्माण गरिएका छन् । सो स्वास्थ्य चौकीमा जनस्वास्थ्य निरीक्षक, दुई जना अनमी, ल्याब टेक्निसयन लगायतका स्वास्थ्यकर्मी छन् । अध्यक्ष लामाले वडामा स्वास्थ्य क्षेत्रमा भएको विकासबाट जनताहरु सन्तुष्ट रहेको जानकारी दिनुभएको छ । सो वडामा २०७७ सालमै तीन वटा सामुदायिक इकाईहरु सञ्चालनमा छन् । तिनिहरुले स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गर्दे आइरहेको छ । अहिले वडावासीले आधुनिक स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवा पाइरहेका छन् । स्वास्थ्य चौकीले स्थानीयलाई अझ बढी सहज र प्रभावकारी रुपमा स्वास्थ्य सेवा प्रदान गर्दे आएको उहाँले थप्नुभयो ।

विगतमा त्यस ठाउँमा स्वास्थ्य चौकी र स्वास्थ्य संस्था नहुँदा सामान्य घाउचोट उपचारका लागि घण्टौं लगाएर बाह्रबिसे, धुलिखेल, बनेपालगायतका स्थानमा रहेका स्वास्थ्य संस्था धाउनुपर्ने अवस्था थियो । उक्त वडाका घिप्चे, काङलाङ, छगाम, बगाम, लिस्ति, छयाङसिङ, सोताङ लगायतका दुर्गम गाउँबाट बिरामीलाई बोकेर टाढाका दुरीमा रहेका स्वास्थ्य संस्था उपचारका लागि लैजानु पर्ने स्मरण गर्दे अहिले आधुनिक स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाइबाट गाउँमै स्वास्थ्य उपचार पाइरहेको छन् ।

‘अबदेखि प्राथमिक उपचारका लागि बिरामीलाई डोकोमा बोकेर टाढाका स्वास्थ्य संस्था धाउनु पर्देन’ उहाँले थप्पुभयो । प्राथमिक उपचार र औषधीका लागि गाउँले गाउँ छाड्नु पर्ने समस्या अन्त्य भएको लामाको भनाइ छ ।

आधुनिक भवन निर्माण हुनअघि लिस्ति स्वास्थ्यचोकीले प्रि–प्याप भवनबाट स्वास्थ्य सेपा प्रदान गरिरहेको थियो । उक्त नयाँ भवन निर्माणमा भवन तथा सहरी विकास तथा भवन निर्माण विभाग, सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापले प्राविधिक सहयोग र हिन्दुङ एण्ड थोकर लामा जेभीले सो भवन निर्माण गरेको थियो । गाउँमै आधुनिक स्वास्थ्य चौकी निर्माणले स्थानीयहरु हर्षित भएको जनाएका छन् । उक्त स्वास्थ्य चौकीबाट विभिन्न समयमा बिभिन्न रोगका निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने र औषधी वितरण हुने जनाइएको छ ।