• २६ चैत २०८१, मङ्गलबार

एकीकृत नमुना बस्तीमा झाडी

blog

झाडीले ढाकेको मदाने गाउँपालिका–३, सिर्सेनी बाटाचौरको एकीकृत नमुना बस्ती । तस्बिर : टोपलाल अर्याल

रेसुङ्गा समाचारदाता

रेसुङ्गा (गुल्मी), चैत २५ गते । गुल्मीको मदाने गाउँपालिका–३, सिर्सेनीकी माया विश्वकर्मा नमुना बस्तीमा चार/पाँच महिना मात्रै बस्नुभयो । घर पाउँदा खुसी नहुने कुरै भएन तर बारी पुरानै गाउँमा थियो । सहरमा जस्तै घरमा मात्रै बसेर मायालाई पुग्थेन । उहाँ घर एकातिर बारी अर्कातिर भएपछि बिस्तारै गाउँमै फर्किएर बस्न थाल्नुभयो । मायाको नमुना बस्तीको घर झाडीले पुरिन थालेको छ । 

त्यस्तै निर्मला सुनारको गाउँको घर अझै पनि पहिरोले जोखिममा छ । नयाँ घर पाउँदा बस्नलाई त राहत भयो तर तरकारी रोप्ने र मकै, कोदो उत्पादन हुने बारी गाउँमै भएकाले नमुना बस्ती सुनारले रुचाउनु भएन । नमुना बस्तीको तल बारी छ । केही कागज खसेपछि अरूले गाली गर्छन् । उहाँले भन्नुभयो, “घरको सुविधा मात्रै हेरेर भएन, खाने उपाय छैन । थोरैधेरै फल्ने बारी र वस्तुभाउका लागि 

गाउँमै फर्किन बाध्य भयौँ ।” भौगोलिक समस्याका कारण पुरानो बस्ती र एकीकृत बस्ती नजिक छैन । दिनभर पुरानो ठाउँमा काम गर्न र बास बस्न मात्रै नयाँ घरमा आउन सबैलाई अप्ठ्यारो प¥यो । जसका कारण करोडौँ लगानी गरेर निर्माण गरेको एकीकृत नमुना बस्ती उपयोगविहीन बनेको छ । 

सालझन्डी–ढोरपाटन सडक विस्तार र २०७२ सालको भूकम्पले चर्किएर पुरानो बस्ती कमजोर छ । त्यो सबै परिवारले बुझे पनि घरगोठमा पशुपालन र सानो बारी छ । नमुना बस्तीमा घर मात्रै छ । त्यसैले घरले मात्रै पेट पाल्न सक्ने परिवार नभएकाले जोखिम मोलेरै पुरानो बस्तीमा फर्किनु परेको स्थानीय निरा विश्वकर्माले बताउनुभयो । गुल्मीको मदाने गाउँपालिका–३, सिर्सेनीको बाटाचौरमा १७ घरसहितको नमुना बस्ती निर्माण गरिएको छ । 

मदाने गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा जग्गा प्राप्त गरेपछि बाटाचौरको नमुना बस्तीमा दुईकोठे घर, शौचालय, निःशुल्क मिटरबक्स र धारा गाउँपालिकाले निर्माण गरिदिएको थियो । त्यस्तै सिर्सेनीकै खन्युखर्कमा १९, सिममा दुई र काफलपाटामा नौ गरी ३० वटा घर निर्माण गरिएको छ । तीन स्थानमा राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत एकीकृत बस्ती निर्माणको काम भएको हो । अरू बस्तीभन्दा बाटाचौरमा धेरै घरमा मान्छे नबस्ने स्थानीय बताउँछन् । एकीकृत नमुना बस्ती २०७९ सालमा पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नं. २ का सांसद गोकर्ण विष्टले परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।

नमुना बस्तीकै लागि सरकारका तर्फबाट करिब तीन करोड रुपियाँ खर्च भए पनि उपयोग नहुँदा राज्यको लगानी खेर गइरहेको छ । गाउँमा घरसँगै मान्छेलाई पशुपालन र कृषिको आवश्यकता पर्ने र जोडिएका घरसँग भावना एक नहुँदा बस्न कठिन हुने अवस्था आफूले देखेको मदाने गाउँपालिका–३, सिर्सेनीका वडाध्यक्ष चेतबहादुर सेनले बताउनुभयो । धेरै पटक नयाँ बस्तीमा फर्किन आफूहरूले आग्रह गरे पनि बारी, पशुचौपायाका कारण अप्ठ्यारो रहेको सेनले बताउनुभयो ।