दैलेख समाचारदाता
दैलेख, चैत २५ गते । यहाँको आठबिस नगरपालिका–१, सात्तलादेखि ठाँटीकाँध गाउँपालिका र चामुण्डा बिन्द्रासैनी नगरपालिका हुँदै मध्यपहाडी राजमार्गमा जोड्ने चिन्याथापा खोलामा पक्की पुलको शिलान्यास गरिएको छ । कर्णाली प्रदेश सरकारको सहयोगमा पूर्वाधार विकास कार्यालय दैलेखबाट चिन्याथापा खोलामा पक्की पुलको शिलान्यास कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री गमता विकले गर्नुभएको हो ।
२०८३ फागुन २५ गते निर्माण सम्पन्न गर्ने गरी सचेत एमएम सनलाइट जेभी वीरेन्द्रनगर सुर्खेतले तीन करोड ९९ लाखमा ठेक्का सम्झौता गरेको छ । पुलको शिलान्यास गर्दै भौतिक पूर्वाधार विकास राज्यमन्त्री गमता विकले पुल निर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाउन निर्देशन दिनुभयो । उहाँले निर्माण सम्पन्नको अवधिभित्रै मोटरेबल पुल निर्माण गर्न निर्माण कम्पनीलाई आग्रह गर्दै ठेक्का लिएर अलपत्र पार्ने समस्या देखिएको हुँदा त्यसतर्फ सचेत बन्न सुझाव दिनुभयो ।
पूर्वाधार विकास कार्यालय दैलेखका प्रमुख इन्जिनियर पदमप्रसाद देवकोटाले पुल निर्माणको जिम्मा पाएको कम्पनीले सम्झौता भएलगत्तै काम सुरु गरेकाले समयमै निर्माण हुनेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो । उहाँले पुल निर्माणमा कुनै प्राविधिक समस्या देखिएको समयमा पूर्वाधार विकास कार्यालय निर्माण कम्पनीसँग समन्वय गरेर अगाडि बढ्ने उहाँले जनाउनुभयो ।
पुल निर्माणको जिम्मा पाएको सेचत एमएम सनलाइट निर्माण कम्पनीका राजेन्द्र शाहीले पुल निर्माणको समयावधिभित्र निर्माण गरेर हस्तान्तरण गर्ने बताउनुभयो । उहाँले सम्झौता भएदेखि नै आफूहरूले निरन्तर काम गरिएको र शिलन्याससमेत भइसकेको अवस्थामा अब काम नरोकिने जनाउनुभयो । पुलको लम्बाइ २५ मिटर र चौडाइ ११ मिटर छ ।
ठाँटीकाँध गाउँपालिका–१ का नर्तम बुढाले चिन्याथापा खोलामा पुल बनेपछि आठबिस नगरपालिका–१, रामघाट हुँदै ठाटीकाँध र चामुण्डा बिन्द्रासैनी नगरपालिकामा आवतजावत गर्ने सवारीसाधन र यात्रुलाई राहत हुने बताउनुभयो । उहाँले पुल नहुँदा बर्खाको समयमा यात्रुलाई जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता पुल निर्माण भएपछि हट्ने जनाउनुभयो । चिन्याथापा खोलामा पुल नहुँदा धेरै सवारीसाधन कर्णाली राजमार्ग हुँदै तल्लो डुगेश्वर आउने गरेका थिए । माथिल्लो कर्णालीबाट कर्णाली राजमार्गमा गुड्ने सवारीसाधन र यात्रुलाई समेत मध्यपहाडीको बाटो हुँदै सियाकोट निस्कन छिटो र सहज हुने बुढाको भनाइ छ ।