• २६ चैत २०८१, मङ्गलबार

भूमिसम्बन्धी समस्या छिट्टै समाधान गरिने

blog

भूमि समस्या समाधान आयोग जुम्लाको कार्यालय निरीक्षण गर्नुहुँदै मन्त्री बलराम अधिकारी । तस्बिर : नौरते नेपाली

सिँजा समाचारदाता

सिँजा (जुम्ला), चैत २५ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या समाधान गर्न निर्देशन दिनुभएको छ । भूमि समस्या समाधान आयोग जुम्लाको कार्यालय निरीक्षण गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । 

भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीलाई छिटोभन्दा छिटो भूमि उपलब्ध गराउन उहाँले आयोगका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । भूमिसम्बन्धी समस्या हल गर्नका लागि स्थानीय तहसँग समन्वय र सहकार्य गर्न सुझाव दिँदै उहाँले स्थानीय तहसँगको समन्वय र सहकार्यले मात्रै भूमिहीन जनताका समस्या समाधान हुने उल्लेख गर्नुभयो । मन्त्री अधिकारीले यो अन्तिम आयोग भएकाले परिणाम देखिने गरी काम गर्न आग्रह गर्नुभयो । जनताका हातमा लाजपुर्जा दिने बेला आफू पुनः जुम्ला आउने उहाँको भनाइ छ । 

भूमिहीन नागरिकको समस्या हल गर्नका लागि बनेको आयोगले प्रभावकारी रूपमा काम गर्न सक्नुपर्ने उहाँले बताउनुभयो । सरकारको पहिलो प्राथमिकता दलित सुकुमवासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने लक्ष्य रहेको मन्त्री अधिकारीले बताउनुभयो । मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सुस्त गतिमा चलेको भूमि आयोगको कामलाई गतिशील बनाउन आयोगको महत्वपूर्ण भूमिका रहने जनाउनुभयो । उहाँका अनुसार पहिले जस्तो काममा ढिलासुस्ती नगर्न आग्रह गर्नुभयो । आयोगसँग धेरै नागरिकले भूमि पाउने अपेक्षा गरेका हुनाले निराश बनाउने काम नगर्न उहाँले सुझाव दिनुभयो । आयोगको जिल्ला कार्यालयमा भौतिक समस्या भए पनि नागरिकले सेवा पाउनुपर्ने उहाँको भनाइ छ । 

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले जुम्लाको कनकासुन्दरी र मुगु जिल्लाबिचमा देखिएको सीमा विवादमा आयोगले सहजीकरणको भूमिका निर्वाह गरिदिन अनुरोध गर्नुभयो । आयोगका क्षेत्राधिकारभित्र पर्ने कामलाई आमनागरिकले अनुभूति हुने गरी गर्नुपर्ने उहाँको भनाइ छ । भूमि समस्या समाधान आयोग जुम्लाका अध्यक्ष सुरतबहादुर शाहीले लगत सङ्कलनको काम सुरु गरिएको जानकारी दिनुभयो ।