गोरखापत्र अनलाइन
काठमाडौं, चैत २५ गते । आदिवासी जनजाति पत्रकारहरुको साझा संस्था नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आठौं संघीय महाधिवेशन चैत २९ र ३० गते लुम्बिनीमा हुन गइरहेको छ । महाधिवेशनको उदघाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नुहुनेछ ।
फोनिज संघीय महाधिवेशनको सबै तयारी करिब पूरा भएको फोनिज महासचिव समीर बलामीले जानकारी दिनुभयो । महाधिवेशनमा पाँचसय प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने उहाँको भनाइ छ ।
फोनिजको ६६ जिल्लामा समिति रहेको छ । आठ जातीय पत्रकार संगठन आवद्ध छन् भने आठ विदेश शाखा रहेको फोनिज पदाधिकारीहरुको भनाइ छ । फोनिजमा साढे चार हजार आदिबासी जनजाति पत्रकार आवद्ध छन् ।
आठौं महाधिवेशनका लागि वरिष्ठ उपाध्यक्ष लक्की चौधरी अध्यक्षमा दावी गर्नुभएको छ । यसअघिको कार्यकालमा समेत उपाध्यक्ष रहिसक्नुभएका चौधरीले तराई–मधेसबाट अहिलेसम्म फोनिजको नेतृत्वमा कोही आउने अवसर प्राप्त नगरेकाले आफूले यस पटक स्वाभाविक दावी गरेको बताउनुभएको छ ।
२०५६ साउन २७ गते तत्कालीन रुपमा नेपाल आदिबासी जनजाति पत्रकार संघ (अनिज) को रुपमा स्थापना भएको संस्था २०७० सालमा फोनिजमा रुपान्तरण भएको थियो । आठ जातीय पत्रकार सम्बद्ध फोनिजमा मगर, थारु, गुरुङ, शेर्पा, तामाङ, नेवाः, राई र लिम्बु पत्रकार संघ आवद्ध छन् ।
आफ्नो रजत वर्ष मनाइसकेको फोनिजमा अहिलेसम्म राई, गुरुङ र तामाङ समुदायबाट पत्रकारले नेतृत्व गरिसक्नुभएको छ । संस्थापक अध्यक्ष चन्द्रसिंह कुलुङ राईले दुई कार्यकाल फोनिजको नेतृत्व गर्नुभयो । त्यसपछि खिम घलेले एक कार्यकाल नेतृत्वमा रहनुभयो । सोपछि मोहनसिंह लामाले एक कार्यकाल नेतृत्वमा रहनुभयो । लामापछि पत्रकार डण्ड गुरुङले दुई कार्यकाल फोनिजको नेतृत्वमा रहनुभयो । अहिले गजुरधन राई फोनिजको नेतृत्व गरिरहनुभएको छ ।
लुम्बिनीमा हुने आठौं महाधिवेशनले ५३ सदस्यीय संघीय समिति गठन गर्नेछ । फोनिजमा अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, पाँच सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने विधानमा व्यवस्था छ ।