• २६ चैत २०८१, मङ्गलबार

भूकम्पले घर चर्किएपछि त्रसित

blog

पटक पटक आएको भूकम्पले चर्किएको घर ।

बाजुरा समाचारदाता

बाजुरा, चैत २५ गते । गत शुक्रबार राति गएको भूकम्पले बाजुराको जगन्नाथ गाउँपालिका–५, गोत्रीका स्थानीयका घर फेरि चर्किएका छन् । गत पुस महिनामा सोही ठाउँमा केन्द्रविन्दु बनाएर गएको ५.२ म्याग्निच्युडको भूकम्पले यहाँका एक हजार १२ घर चर्किएको वडाध्यक्ष गौरी सार्कीले बताउनुभयो ।

शुक्रबार राति गएको भूकम्पले फेरि तिनै घर थप चर्किएका छन् । पटक पटक आउने गरेको भूकम्पले कच्ची घर चर्किने र भत्किने गरेकाले यहाँका भूकम्पपीडित निकै त्रसित बन्दै गएका छन् । गत पुस ६ गते गएको भूकम्पले घर पूरै चर्किएको थियो । अहिले फेरि आएको भूकम्पले घर चर्किएको स्थानीय अनिराम दमाईंले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलाको भूकम्पले चिरा चिरा परेको घर अहिले फेरि बढी चर्किएपछि बास बस्न निकै डर लाग्न थालेको छ ।”

“भूकम्पले घर छोड्नु भन्छ तर मेरो आर्थिक अवस्थाका कारण यतै बस्न बाध्य भएको छु । अन्यत्र घर बनाउन नसकेपछि चर्किएकै घरमा बस्न बाध्य हुनु परेको हो,” दमाईंले बताउनुभयो । २०७९/८० मा बाजुराको बिछ्या, गौमूल र यस वर्ष पुसमा जगन्नाथ–५, गोत्रीमा केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । वडाध्यक्ष गौरी सार्कीका अनुसार भूकम्पले मानवीय क्षति भने भएको छैन तर यहाँका घरमा भने ठुलो क्षति भएको छ । अहिले ती घर बस्न लायकका छैनन् । बर्खाको समय थोरै पानी पर्नेबित्तिकै ती घर भत्किने सम्भावना रहेको छ, हिउँदमा उनीहरूले त्यसै घरमा बस्ने गरे पनि बर्खाको समयमा भने उनीहरूलाई कहाँ बास बसाल्ने निकै चिन्ता भएको वडाध्यक्ष सार्कीले बताउनुभयो ।

यहाँका भूकम्पपीडितले घरबास स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग पटक पटक घरबासको माग गर्दै आएको भए पनि कतैबाट सुनुवाइ भएको छैन । २०७९ सालमा आएको भूकम्पले एक हजार १६६ र २०८० सालमा आएको भूकम्पले एक हजार ८४४ र २०८१ पुस ६ गते गएको भूकम्पले १४६ घर पूर्ण र ८६६ घर आंशिक रूपमा क्षति भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

“भूकम्पपीडित तथा बाढीपहिरोपीडितको सङ्ख्या धेरै रहेको र त्यसका लागि रकम भएकाले गृह मन्त्रालयलाई अहिले फेरि रकम माग गरेका छौँ,” बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले भन्नुभयो, “गृहबाट निकासा हुनेबित्तिकै भूकम्प तथा बाढीपहिरोपीडितलाई अस्थायी घरटहरा निर्माण गर्नका लागि रकम दिइने छ ।”