• २६ चैत २०८१, मङ्गलबार

सिर्जना उत्सवमा ठाडीभाका

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, चैत २५ गते  ।  सिर्जना उत्सवमा ठाडीभाका प्रतियोगिता सम्पन्न भएको छ । नेपाली कला साहित्य डटकम प्रतिष्ठानको आयोजना र राप्ती साहित्य परिषद् रुकुमपश्चिमको सहआयोजनामा भएको सिर्जना उत्सवको पहिलो सत्रमा त्रिवेणी गाउँपालिकाको सहिद स्मृति भवनमा मौलिक ठाडीभाका घन्किएको हो । ठाडीभाकामा मुसीकोट नगरपालिकाका कमल खड्काको समूह पहिलो भएको छ । राप्ती साहित्य परिषद् रुकुमपश्चिमका अध्यक्ष मनलाल ओलीका अनुसार ठाडीभाकामा त्रिवेणी गाउँपालिकाकी अस्माली खड्काको समूह दोस्रो र त्रिवेणी गाउँपालिकाकी तिलसरी विकको समूह तेस्रो भएको छ ।

कार्यक्रमका संयोजक पूर्ण ओलीका अनुसार ठाडीभाकामा कुल २० टिम दर्ता भएकोमा त्यसबाट मूल्याङ्कन गरेर पाँच वटामा झारिएको थियो । त्यसबाट पहिलो, दोस्रो, तेस्रो र सान्त्वना निकालिएको हो । सिर्जना उत्सवमा नेपाली कला साहित्य डटकमका अध्यक्ष मोमिला जोशी, वरिष्ठ संस्कृतिविद् तथा साहित्यकार तुलसी दिवस, नेपाल सरकारका पूर्वमुख्यसचिव तथा साहित्यकार डा. विमल कोइराला, साहित्यकार दिनेश अधिकारी, कर्णाली प्रदेशका पूर्वसचिव भरतकुमार शर्मालगायतको आतिथ्य रहेको थियो ।