गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २५ गते । चलचित्र ‘जनै हराएको बाहुन’ को शुभमुहूर्त गरिएको छ । काठमाडौँको बुढानीलकण्ठमा आइतबार बिहान चलचित्रको शुभमुहूर्त गरिएको हो । बुढानीलकण्ठ मन्दिरपरिसरभित्र भएको शुभमुहूर्तमा अभिनेतृ मिरुना मगर, अभिनेता सुशाङ्क मैनाली, गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सर्ट दिनुभयो थियो ।
हिमाल न्यौपानेको निर्देशन रहेको चलचित्रमा विजय बराल, सुशाङ्क मैनाली, केकी अधिकारी, मिरुना मगरलगायतका कलाकारको अभिनय रहने छ । गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नु परेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा रहेको चलचित्रमा आमा र छोराबिचको भावनात्मक सम्बन्धलाई पनि प्रस्तुत गरिएको निर्देशक न्यौपानेले बताउनुभयो । थानेश्वर गौतम र एस डी योगीको सङ्गीत रहने चलचित्रमा लक्ष्मणराज पौडेल प्रोडक्सन म्यानेजर हुनुहुन्छ ।