• २६ चैत २०८१, मङ्गलबार

कवि टंक पन्थलाई जानकी साहित्य पुरस्कार

blog

कवि तथा समालोचक टंक पन्थ ।

टोपलाल अर्याल

रेसुंगा, चैत २४ गते । गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामका चर्चित कवि तथा समालोचक डा. टंक पन्थलाई जानकी साहित्य पुरस्कार प्रदान गरिने भएको छ । 

यो पुरस्कार किरण पुस्तकालय तम्घास, गुल्मीले प्रत्येक बर्ष प्रदान गर्दैआएको छ । जानकी साहित्य पुरस्कार छनोट समितिको निर्णयअनुसार नेपाली कविता तथा समालोचनाको बिधामा गर्नुभएको योगदानको कदर गर्दै पन्थलाई पुरस्कार दिने निर्णय भएको किरण पुस्तकालयका उपाध्यक्ष दीन पन्थले जानकारी दिनुभयो । 

यो पुरस्कार साहित्यमा रुची राख्ने स्वर्गीय जानकी ज्ञवाली गौतमको सम्झनामा २०७३ सालमा स्थापना गरिएको थियो । गुल्मीमा जन्मेर साहित्य सिर्जना गर्ने वा गुल्मीलाई केन्द्रमा राखेर साहित्य सिर्जना गर्ने साहित्यकारमध्येबाट छनोट गरेर एक जनालाई मोती जयन्तीका दिन पुरस्कार प्रदान गर्ने गरिएको पुस्तकालयका उपाध्यक्ष पन्थले बताउनुभयो । 

उक्त पुरस्कार २०७५ सालमा सूर्यबहादुर सेन वली, २०७६ सालमा भागीरथी श्रेष्ठ, २०७७ सालमा रामप्रसाद पन्त, २०७८ सालमा नारद गौतम, २०७९ सालमा रुद्र ज्ञवाली, २०८० सालमा हरिप्रसाद भण्डारी र २०८१ सालमा ठाकुरप्रसाद भण्डारीलाई प्रदान गरिएको किरण पुस्तकालयले जनाएको छ ।