• २६ चैत २०८१, मङ्गलबार

इण्डो–नेपाल क्रिकेट प्रतियोगिता : पटनासामु दिल्ली निरिह

blog

शशिधर पराजुली

विराटनगर, चैत २४ गते । विराटनगरमा जारी चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा फार्मेन्स क्रिकेट एकेडेमी पटनाले भारतको दिल्ली युथ क्लबलाई ८ विकेटले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

जुटमिल खेल मैदानमा आइतबार भएको रोमाञ्चक खेलमा पटनाका कुमार श्रेयले अविजित सतक प्रहार गर्दै आफ्नो टोलीलाई जित दिलाउनुभयो ।

दिल्लीले दिएको १६८ रनको लक्ष्य पटनाले मात्र १२.१ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो । पटनाका खेलाडी कुमार श्रेयले केवल ३७ बलमा १०८ रन बनाउनुभयो । उहाँको आक्रामक ब्याटिङको कारण पटनाले दिल्लीलाई सहजै पराजित गर्‍यो । उत्कृष्ट प्रदर्शन गरेकोमा कुमार श्रेयलाई प्लेयर अफ द म्याच घोषित गरियो र तीन हजार १०० रुपियाँ पुरस्कार प्रदान गरिएको थियो । 

उनको साथमा पटनाका ओपनर अनुज रञ्जनले १७ बलमा २७ रन, रिशन राकेशले अविजित १३ बलमा १८ रन, गोलु मिश्राले ७ बलमा १२ रनको योगदान दिनुभयो । 

दिल्लीका बलरमध्ये साहिल अन्सारी र नितेश चौधरीले मात्र १–१ विकेट लिन सफल हुनुभयो । पटनाका धेरै ब्याट्सम्यान आक्रमक मुडमा रहेकाले दिल्लीका बलरले विकेट लिन कठिनाइ भोगे ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा अलआउट हुँदै १६७ रनको मध्यम योगफल बनायो । दिल्लीका रोहन महालदनले सर्वाधिक २० बलमा ४१ रन बनाउनुभयो भने रोहन कुमारले २२ रन,  सुजित कुमारले २१ रनको योगदान दिनुभयो । यस्तै आदर्श सिन्हाले १७ र लला आलमले १५ रन बनाउनुभयो  ।

यद्यपि, दिल्लीका अन्य ब्याट्सम्यानहरू दोहोरो अंक जोड्न नसक्दा आक्रामक सुरुवात गरेको दिल्लीको टोली खेल जित्न असफल रह्यो । 

पटनाका शशि आनन्दले ३ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिनुभयो भने दिल्लीका महत्वपूर्ण ब्याट्सम्यानलाई आउट गर्दै पटनाको जितमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । यस्तै रिसभ राकेश र नन्द किशोरले पनि २–२ विकेट लिनुभयो । 

सोमबार भारतको बिहार क्रिकेट क्लब र फारबिसगंजचको मुन क्रिकेट क्लबबीच हुनेछ ।