• २६ चैत २०८१, मङ्गलबार

गुल्मी अस्पतालमा ‘पेन प्लस क्लिनिक’ सञ्चालन

blog

रमेश विश्वकर्मा

गुल्मी, चैत २४ गते । गुल्मी अस्पतालमा नसर्ने रोगहरूको उपचारका लागि ‘पेन प्लस क्लिनिक’ सञ्चालनमा ल्याइएको छ । अस्पतालमा आउने गम्भीर तथा कडा नसर्ने रोगका बिरामीहरूका लागि सेवा उपलब्ध हुनेछ । दम, सुगर, प्रेसर, मुटु, स्तन क्यान्सर लगायतका बिरामीले सेवा पाउने छन् । 

त्यसैगरी मुटुको भिडियो एक्सरे, डाइबिटिज, मुटुमा हुने प्वालहरू, मुटुको बाथरोग, बच्चाको हाइपरटेसन लगायतका बिरामीको लागि पनि पेन प्लस क्लिनिकले सहयोग पुर्‍याउने छ। अस्पतालमा पुग्ने बिरामीहरूले नसर्ने रोगको बारेमा जानकारी नहुँदा धेरै अन्योलमा पर्ने भएको हुँदा यो सेवाले बिरामीहरूलाई सहयोग पुग्ने छ । यहाँ आउने दीर्घरोगी नसर्ने रोगका बिरामीहरूलाई छुट्टै पेनप्लस क्लिनिक स्थापना गरी थप सेवा प्रदान लागिएको बताइएको छ । 

क्लिनिकबाट मेडिकल अधिकृतसहित हेल्थ असिस्टेन र स्टाफ नर्सले निःशुल्क सेवा प्रवाह गर्ने अस्पतालका सूचना अधिकारी रमेश पन्थीले जानकारी दिनुभयो । काठमाडाैँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थले अति गरिब र विपन्न नागरिकहरूका लागि निःशुल्क रूपमा स्वास्थ्य बिमा गर्नुका साथै बिमा रकम बाहेक अन्य ठुला रोगका बिरामीको शल्यक्रिया गर्नुपरेमा उनीहरूलाई निःशुल्क रूपमा सबै खर्च बेहोरेर उपचार गर्ने व्यवस्था रहेको छ । 

गुल्मी अस्पतालका निमित्त प्रमुख डाक्टर विभव वस्यालका अनुसार अस्पतालमा नसर्ने रोगहरूका लागि छुट्टै कार्यकक्ष छ । कोठा नम्बर १५ र २१ मा त्यस्ता बिरामीहरूका लागि सेवा उपलब्ध गराइने छ। यस कार्यक्रमबाट कुल बिरामी सङ्ख्याको गणना हुने तथा बिरामी पुन उपचारमा आए÷नआएको समेत तथ्याङ्क राखिने उहाँले बताउनुभयो । 

यस कार्यक्रमलाई सफल बनाउनका लागि जिल्ला अस्पतालका स्वास्थ्यकर्मी तथा डाक्टरहरूलाई तालिम समेत प्रदान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्वमा युनिसेफ नेपालको आर्थिक सहयोग तथा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको साझेदारीमा ‘पेन प्लस क्लिनिक’ सञ्चालनमा ल्याइएको हो । 

क्लिनिकको एक औपचारिक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले गुल्मी अस्पतालमा आवश्यक मात्रामा डाक्टर उपलब्ध गराउन पहल गर्ने बताउनुभयो ।