• २८ मङ्सिर २०८२, आइतबार

पहिचानको कुरा छाडेका छैनौं : अध्यक्ष प्रचण्ड

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’।

काठमाडौँ, चैत २४ गते। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय पहिचानका आधारमा राज्य पुनर्संरचना गर्ने एजेन्डा नछाडेको बताउनुभएको छ। 

आइतबार काठमाडौँमा आयोजित नेवाः राष्ट्रिय मुक्ति मोर्चाको बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले जातीय पहिचानको मुद्दा आफूले नछाडेको स्पष्टीकरण दिनुभयो। 

उहाँले सङ्घीयताको संरचना बनाउँदा आफूले १४ प्रदेश बनाउनुपर्ने कुरा संविधानसभामा ‘नोट अफ डिसेन्ट’को रूपमा दर्ज गराएको समेत स्मरण गराउनु भयो।

‘प्रतिक्रियावादीको ट्रयापमा परेको हो। हामीले जातीय पहिचानको कुरा छाडेका छैनौं। भविष्यमा उठाउँछौ भनेर १४ प्रदेशको कुरा संविधानसभामा बोलिएको छ’, अध्यक्ष प्रचण्डले भन्नुभयो। 

त्यस्तै अध्यक्ष प्रचण्डले वैशाख ६ गते काठमाडौँमा हुने नेवाः मुक्ति मोर्चाको सम्मेलनलाई आन्दोलनको रूपमा अगाडि बढाउने बताउनु भएको छ। 

‘प्रतिगामीले फेरि टाउको उठाउन सम्भव छैन। त्यसका लागि काठमाडौंका नेवारहरू जुरुक्क उठ्नुपर्‍यो। यथास्थिति र प्रतिगामी षडयन्त्रका विरुद्ध आन्दोलन गर्न जरुरी भयो,’ अध्यक्ष प्रचण्डले भन्नुभयो।