• २६ चैत २०८१, मङ्गलबार

ताप्लेजुङका तीन वटा गाउँपालिकाबिच सहकार्य हुने

blog

प्रतिबद्धता पत्रमा हस्ताक्षर तीन गाउँपालिकाका अध्यक्षहरू । क्रमश: मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेम, मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङ वीर हाङ्गाम (डम्बर) र मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्त कार्की । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू 

फुङलिङ, चैत २४ गते । अब ताप्लेजुङका तीन वटा गाउँपालिका एक आपसमा सहमति र सहकार्यका आधारमा मिलेर अघि बढ्ने भएका छन् । मेरिङ्देन गाउँपालिका, मैवाखोला गाउँपालिका र मिक्वाखोला गाउँपालिका सहमति र सहकार्यका आधारमा अगाडि बढ्ने भएका हुन् । 

आज मेरिङदेन गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी तीन गाउँपालिकाले समृद्धि र विकससँग जोडिएको जैविक विविधता स्थानीय उत्पादन र उक्त क्षेत्रका ऐतिहासिक धार्मिक, सांस्कृतिक सम्पदाहरूको संरक्षण तथा संवर्धन गर्दै पर्यापर्यटनको विकास गर्न एक आपसमा मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तै सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका तीन पालिकाहरूले चालु आर्थिक वर्ष देखि सञ्चालनमा रहेको नेपाल सरकार र स्वीस सरकारको दुई पक्षीय सम्झौता अनुसार कोशी प्रदेशको पदमार्गमा आधारित पर्यटन विकास परियोजनामा समेटिनु पर्ने आफ्नो पालिकाहरू नसमेटिएको भन्दै ध्यानाकर्षण समेत गराएका छन् ।   

उक्त परियोजना निर्माण गर्दा हालको लालीगुराँस पदमार्ग देखि जलजले (तिन पोखरी सोदुपोखरी तोक्पेगोलओलाङचुङगोला सम्म कायम गर्न माग समेत गरेका छन् । लालीगुराँस पदमार्गमा तुम्लिङटार खादवारी-नुम-गुफापोखरी-वसन्तपुर-जलजले-तिनजुरे (मिल्के) पर्दछ । यो पदमार्गको परियोजनाले ताप्लेजुङको मैवाखोला गाउँपालिका मिक्वाखोला गाउँपालिका र मेरिङदेन गाउँपालिकालाई समेत समेट्ने बताइएको छ ।

साथै कोशी प्रदेशले निर्माण गरेको दोस्रो आवधिक योजनामा प्रदेशका विभिन्न १९ वटा रूपान्तरणकारी कार्यक्रमहरु छनोट गर्दा जैविक विविधता र प्राकृतिको प्रचुर सम्भावना भएको जिल्ला ताप्लेजुङलाई नसमेटिएकोमा पनि ध्यानाकर्षण गराएका छन् ।