• २६ चैत २०८१, मङ्गलबार

प्रथम नेपाल खो-खो लिग सुरु

blog

यज्ञप्रसाद सापकोटा

गुलरिया(बर्दिया) चैत २४ गते । बर्दियामा नेपालकै प्रथम खो-खो लिग प्रतियोगिता सुरु भएको छ । खो खो खेलको उद्घाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले उद्घाटन गर्नुभएको हो । 

खेलको उद्घाटन गर्दै मन्त्री तिमिल्सिनामा खो खो खेलको विकासमा लुम्बिनी प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो । पछिल्लो समयमा खेल क्षेत्रलाई मुलुकले प्रथामिकताका साथ अगाडी बढाएपनि खेलाडीलाई दिनुपर्ने सेवा सुविधा दिन नसकेको बताउनु भयो । पहिलो खो खो विश्वकपमा नेपालले रजत पदक प्राप्त गरेको बताउँदै न्युन सेवा सुविधालाई पनि व्यवस्थीत गर्दै अन्र्तराष्ट्रिय रुपमा पहिचान बनाउन सफल भएकोमा धन्यवाद दिनुभएको छ । 

दुई वटा खेल भएका छन् । खेल डली कन्स्ट्रक्सन राइनोज र  न्याचर नेष्ट टाइगर्सबिच कडा प्रतिस्पर्धा भएको छ । त्यसैगरी सुदूरपश्चिम किंग्स र कञ्चन गडाहवा रोयल्स टिमले आज नै प्रतिस्पर्धा गर्ने भएका छन् । 

आजदेखि ठाकुरबाबा नगरपालिकाको रानिपुर कभर्डहलमा सुरु भएको प्रतियोगिता चैत २८ गते सम्म सञ्चालन हुने छ । खेलमा डली कन्स्ट्रक्सन राइनोज, न्याचर नेष्ट टाइगर्स, विकास प्रेमी ब्ल्याकबक, सुदूरपश्चिम किंग्स र कञ्चन गडाहवा रोयल्स टिमले प्रतिस्पर्धा गर्नेछन् । लिग खेलमा जम्मा १४ वटा खेल हुनेछन् । 

खो–खो खेल हेर्न पुरै खेल अवधीसम्मको लागि टिकट दर एक हजार, एक दिन मात्रको लागि दुई सय रुपियाँ तोकिएको छ । त्यसैगरी विद्यार्थीहरूको लागि पुरै खेल अवधीको पाँच सय र एक दिनको लागि एक सय ५० रुपियाँ तोकिएको छ । 

ठाकुरबाबा नगरपालिका खो–खो खेलका लागि उर्वर भुमि मानिन्छ । गत पुषको अन्तिम सातामा भारतको दिल्लीमा भएको विश्वकप खो–खो प्रतियोगितामा बर्दिया जिल्लाका मात्र १२ जना खेलाडी सहभागी भएका थिए । 

विश्वकप खो–खो प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो । २०७० साल देखि ठाकुरबाबा नगरपालिकामा खो खो खेलको प्रवद्र्धन गर्न सुरु गरिएको थियो ।