• २५ चैत २०८१, सोमबार

शैक्षिक सत्र अगावै पाठ्यपुस्तक भित्रिए

blog

तनहुँमा भित्रिएको पुस्तक देखाउने क्रममा पुस्तक व्यवसायी ताराराम श्रेष्ठ । तस्बिर :अमरराज नहर्की ।

अमरराज नहर्की

तनहुँ, चैत २४ गते ।  नयाँ शैक्षिक सत्र २०८२/०८३ सुरु हुन अगावै तनहुँमा पर्याप्त मात्रामा पाठ्यपुस्तक भित्रिएको छ । हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका यहाँका सामुदायिक विद्यालयले यस वर्ष शैक्षिक सत्र सुरु हुनु एक महिना अघि नै पाठ्यपुस्तक पाएका हुन् । 

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ जिल्ला शाखा तनहुँका अध्यक्ष तथा दमौलीको भोर्लेटार चोकस्थित सापकोटा स्टेशनरीका सञ्चालक रामचन्द्र सापकोटाले जनक शिक्षा सामग्रीले माग अनुसार पुस्तक उपलब्ध गराएकोले यस वर्ष आवश्यकता अनुसारको पाठ्यपुस्तक एक महिना अघि नै भित्रिएको  जानकारी दिनुभयो । 

सापकोटाले भन्नुभयो, “यस वर्ष जनक शिक्षा सामग्रीले आवश्यकता अनुसार पाठ्य पुस्तक दिएकोले पर्याप्त मात्रामा जिल्लामा भित्रिसकेको छ ।” 

जिल्लामा ८० जना पुस्तक व्यवसायी महासङ्घमा आबद्ध भएको र  उनीहरूले एक करोड ५० लाख अग्रीम लगानी गरेर पुस्तक भित्राएको सापकोटाले जानकारी दिनुभयो । महासङ्घले पाठ्यपुस्तक जिल्लामा लैजानको लागि तालिका मिलाएकोले सोही अनुसार शनिबार पुस्तक भित्रिएको सापकोटाले बताउनुभयो । 

सापकोटाले भन्नुभयो, “माग अनुसारको पाइएकोले अङ्ग्रेजी तथा नेपाली दुवै माध्यमको पुस्तक अभाव छैन ।”

 सामुदायिक विद्यालयका एक सय प्रतिशत र निजी विद्यालयका ९० प्रतिशत पुस्तक जिल्लामा आइसकेको महासङ्घ केन्द्रीय कोषाध्यक्ष तथा व्यास नगरपालिका–२ बालमन्दिरलाइन, दमौली स्थित न्यू विद्यार्थी पुस्तक पसलका सञ्चालक ताराराम श्रेष्ठले बताउनुभयो । विगतमा सामुदायिक विद्यालयको पुस्तक अभाव हुने गरेकोमा यस वर्ष सस्थागत विद्यालयभन्दा पहिला नै खरिद गर्न सकिएको श्रेष्ठले जानकारी दिनुभयो । निजी प्रकाशकका केही पुस्तक मात्रै आउन बाँकी रहेको उहाँको भनाइ छ । 

शैक्षिक सत्र आगावै जनक शिक्षाले पाठ्य पुस्तक माग अनुसारको पठाउने व्यवस्था गरेकाले विगतका वर्षमा जस्तो अभाव नहुने शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका प्रमुख उद्धवराज कट्टेलले बताउनुभयो । 

कट्टेलले भन्नुभयो, “यसवर्ष पुस्तक व्यवसायीहरूले किताबको अभाव नभएको जानकारी दिनु भएको छ पुस्तकको माग गरी पत्र लेख्न परेको छैन ।” तनहुँमा पाँच सय १८ सामुदायिक र एक सय १९ निजी गरी पाँच सय २७ विद्यालय रहेको एकाइ प्रमुख कट्टेलले जानकारी दिनुभयो । समयमै विद्यार्थीको हात हातमा पाठ्यपुस्तक उपलब्ध हुँदा अध्यापन र विद्यार्थीलाई पढाइमा समेत सहजता हुने कट्टेल बताउनुहुन्छ ।