रमेश विश्वकर्मा
गुल्मी, चैत २४ गते । किरण पुस्तकालय तम्घास गुल्मीले प्रदान गर्दै आएको ‘जानकी साहित्य’ पुरस्कार कवि तथा समालोचक डा. टंक पन्थलाई प्रदान गरिने भएको छ।
पुस्तकालयले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘जानकी साहित्य’ पुरस्कार– २०८२ बाट छत्रकोट गाउँपालिका दिगामका पन्थलाई प्रदान गरिने भएको किरण पुस्तकालयका किरण पुस्तकालयका कार्यवाहक अध्यक्ष दीन पन्थीले जानकारी दिनुभयो।
कवि तथा समालोचक पन्थले नेपाली कविता तथा समालोचना विधामा गरेको योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो। उहाँ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको क्याम्पस प्रमुख समेत हुनुहुन्छ। हरेक वर्ष राम नवमीको अवसर पारेर ‘जानकी साहित्य’ पुरस्कार कसलाई प्रदान गरिने भन्दै घोषणा गरिन्छ।
सो पुरस्कार स्व. जानकी ज्ञवाली गौतमको सम्झनामा २०७३ सालमा स्थापना गरेर गुल्मी जिल्लामा जन्मेर साहित्य सिर्जना गर्ने वा गुल्मीलाई केन्द्रमा राखेर साहित्य सिर्जना गर्ने साहित्यकारलाई प्रत्येक वर्ष किरण पुस्तकालयबाट मोती जयन्तीका दिन प्रदान गर्दै आएको छ।
साहित्यकार, समाजसेवी एवम् महिला अधिकारकर्मीको क्षेत्रमा काम गर्दै आउनुभएकी ज्ञवालीको २०७३ मङ्सिर १२ गते अल्पायुमै निधन भएको थियो।
यसभन्दा अगाडि उक्त पुरस्कार सूर्यबहादुर सेन वलीले २०७५ सालमा, भागिरथी श्रेष्ठले २०७६ सालमा र रामप्रसाद पन्तले २०७७ सालमा, नारद गौतमले २०७८ सालमा, रुद्र ज्ञवालीले २०७९ सालमा हरिप्रसाद भण्डारीले २०८० सालमा र ठाकुर शर्मा भण्डारीले २०८१ सालमा प्राप्त गरिसक्नुभएको छ।