रामकृष्ण बोहरा
बागलुङ, चैत्र २४ गते । चैत्राष्टमी मेलाको अवसरमा कालिका बालउद्यान बागलुङमा आयोजित ‘कालीका कप’ पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि गलकोट र जैमिनी नगरपालिका खेल्ने भएका छन् ।
आइतबार सम्पन्न सेमीफाइनलमा खेलमा सिद्दार्थ चश्मा घर कुश्मा नगरपालिकालाई पराजित गर्दै गलकोट नगरपालिका र काठेखोला गाउँपालिकालाई सोझो सेटमा पाखा लगाउँदै जैमिनी नगरपालिकाले फाइनलमा स्थान पक्का गरेका हुन् ।
पहिलो सेमीफाइनल खेलमा गलकोटले कुश्मा नगरपालिकामाथि सोझो सेटमा जित निकालेको हो । गलकोटले २५–२२, २५–२२ र २५–१९ को सेटमा खेल जितेको हो । दोस्रो सेमीफाइनल खेलमा जैमिनी नगरपालिकाले पनि काठेखोलालाई २५–२३, २५–१७ र २५–२० को सोझो सेटमा जित निकालेको हो ।
त्यसअघिको सेमीफाइनल प्रवेशका लागि शनिबार भएका खेलमा गलकोटले बागलुङ नगरपालिकामाथि २५–१९, २५–२३ र २५–२० र जैमिनीले एलके भिलेज लेखानीमाथि २५–९, २५–११ र २५–१९ को सोझो सेट जित निकालेको थियो ।
दस टिम सहभागि खेलमा विजेताले २ लाख रुपियाँसहित मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेता टोलीले १ लाख रुपियाँ पुरस्कार पाउने आयोजक बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।
सेमीफाइनल खेलेका दुवै टिमले २५ हजारको दरले पुरस्कार पाएका छन् । प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीले पनि पुरस्कार पाउने छन् ।
यसअघि ‘कालिका कप’ महिला भलिबल प्रतियोगिताको उपाधि एस.एस.वाई.सी. मङ्गला म्याग्दीले जितेको छ । फाइनल खेलमा ग्रेस इन्टरनेसनल बागलुङलाई सोझो सेटमा पराजित गर्दै मङ्गलाले कालिका कप जितेको हो ।
विजेता मङ्गलाले ८० लाख रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको ग्रेसले ४० हजार रुपियाँ प्राप्त गरेको छ ।