चाँदनी आचार्य
घोडाघोडी (कैलाली) चैत्र २४ गते। कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका अशोक गौतम विजयी हुनुभएको छ। अनेरास्ववियु र नेपाल विद्यार्थी सङ्घको संयुक्त प्यानलका अध्यक्ष पदका साझा उम्मेदवार अशोक गौतमसहित प्यानल विजयी भएको हो।
उक्त क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको विरासत भत्काउँदै अनेरास्ववियुको संयुक्त प्यानलले जित हासिल गरेको हो।
अनेरास्ववियुले घोडाघोडीमा स्ववियु निर्वाचनको इतिहासमै पहिलो जित दर्ता गरेको जनाइएको छ। कैलालीमा त्रिवि अन्तर्गतको यस वर्षको स्ववियु निर्वाचनमा अनेरास्ववियुको यो पहिलो जित हो।
गौतम छ सय ७० मतका साथ विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी अखिल (क्रान्तिकार)का गणेश भण्डारीले चार सय २८ मत प्राप्त गर्नुभयो भने अर्का विप्लब निकट अखिल समाजवादीबाट उम्मेदवार यामबहादुर खत्रीले १० मत प्राप्त गर्नुभयो।
सचिवमा गौतम प्यानलकै नेविसङ्घका प्रविन सिंह विजयी हुनुभएको छ। कोषाध्यक्षमा अनेरास्ववियुका सञ्जीवकुमार चौधरी विजयी हुनुभएको छ।
त्यसैगरी, सदस्यमा गौतम पक्षको संयुक्त प्यानलबाट गोविन्द चौधरी, रमेश चौधरी, पद्यमा शाही, खिमा साउद, अनिता विक, सुवास चौधरी विजयी हुनुभएको छ ।
घोडाघोडी बहुमुखी क्याम्पसमा १६ सय ९१ मतदाता रहेकोमा शनिबार मतदान कार्यक्रममा ११ सय २६ जनाले मतदान गरेका थिए। जसमा ११ सय १२ मत सदर हुँदा १२ मत बदर भएको घोडाघोडी बहुमुखी क्याम्पसका स्ववियु निर्वाचन संयोजक विनोदकुमार खड्काले जानकारी दिनुभयो।
समानुपातिक तर्फसमेत अनेरास्ववियु ४२४ मत प्राप्तगरी पहिलो हुन सफल भएको छ। त्यसैगरी ३८९ मत प्राप्तगरी अखिल क्रान्तिकारी दोस्रो र २५४ मत प्राप्त गरी नेविसङ्घ तेस्रो विद्यार्थी सङ्गठनको रूपमा रहेको जनाइएको छ। अन्तिम मत परिणाम आइतबार सार्वजनिक भएको हो।
यस अघि चैत ५ गते अन्तिम मतदाता नामावलीमा विवाद भएपछि स्थगित भएको निर्वाचन शनिबार सम्पन्न भएको थियो।
नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ र एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुबिच चुनावी तालमेल हुँदा नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्ववियु चुनावी तालमेल प्रतिस्पर्धा रहेका थिए।