अपाङ्गताको विषयलाई सतही पाराले बुझ्ने, बुझाउने र अर्थ लगाउनेहरूको हाम्रो समाजमा कुनै कमी छैन । अपाङ्गताको प्रकृति देखेका र अनुभव गरेका आधारमा पहिचान गरी झर्रा शब्द प्रयोग गरेर सम्बोधन गर्ने र अहिले पनि अपाङ्गताको सन्दर्भमा राम्रो विज्ञता नराख्ने व्यक्ति, समुदायले त्यसै गरी झर्रा शब्द प्रयोग गर्ने प्रचलन छँदै छ (जस्तै : लाटो, अन्धो, लुला लङ्गडा, बौलाहा, लठेब्रो, भकभके ... इत्यादि) र यस्ता शब्दहरूको प्रयोग गर्न निषेध गरिएका छन् ।) यस्ता शब्दलाई वर्तमानमा अपमानजनक मान्ने गरिन्छ ।
हाल त्यसलाई परिवर्तित र सभ्य भाषामा परिभाषित गरेर प्रयोग गर्न लायक शब्द प्रचलनमा ल्याइएका छन् । यस विषयलाई गहिराइमा पुगेर स्पष्ट बुझ्न नसक्नेले भ्रमपूर्वक शब्दको प्रयोग गर्दा नसुहाउँदो र अनर्थ हुने गर्छ । यो त्यति जटिल विषय पनि होइन जति हामीले जटिल बनाएर बुझ्न खोज्छौँ । जुन व्यक्तिमा जस्तो प्रकारको अपाङ्गता छ त्यो समस्यासँग जोडेर व्यक्तिलाई सम्बोधन गर्दा यो भ्रमबाट सजिलै मुक्त हुन सकिन्छ । जस्तै सुन्न नसक्नेलाई सुनाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति भन्नु, दृष्टिशक्ति गुमेका वा नभएकालाई दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्ति भन्नु, बौद्धिक अवस्था कमजोर भएका व्यक्तिलाई बौद्धिक अपाङ्गता भएका व्यक्ति र मानसिक अवस्था ठिक नभएकालाई मनोसामाजिक अपाङ्गता भएका व्यक्ति भन्नु उचित र सम्मानजनक हुन्छ र यो स्थापित मान्यता हो ।
कुनै व्यक्ति सामान्यतः हुनुपर्ने भन्दा फरक शारीरिक वा मानसिक स्वरूपमा जन्मिएको हुनु वा जन्मपछि त्यस्तो अपाङ्गताको अवस्था बन्नुमा आनुवंशिक, वातावरणीय असर, असावधानी वा लापर्बाहीका कारण हुने दुर्घटना र केही रोगको सङ्क्रमण हुँदा त्यसको असरका कारण मुख्य हुन्छन् । अपाङ्गता हुनु व्यक्तिगत र सामाजिक समस्या हो तर त्यसलाई समस्याका रूपमा लिएर थप जटिलतामा बुझ्नाले अपाङ्गता भएका व्यक्ति दमित र पीडित हुन पुग्छन् । समसामयिक मत अनुसार अपाङ्गता समस्या होइन तर त्यसलाई व्यवस्थित गर्नु वा अपाङ्गताको अनुकूल वातावरण दिन नसक्नु समस्या हो भन्ने मान्यता रहेको छ । शारीरिक र मानसिक सुसङ्गठनमा कुनै क्षति भएका कारणले उक्त अपाङ्गता भएको व्यक्तिले सहज तरिकाले गर्नुपर्ने कार्य गर्न नसक्नु र त्यसमा अर्को सहयोगी व्यक्ति वा साधनको आवश्यकता हुने अति असक्त अवस्थालाई एउटा समस्याका रूपमा लिने पनि गरिन्छ ।
शरीरका अङ्गहरू र शारीरिक स्वरूपमा हुने अवस्था, मानसिक बौद्धिक प्रणालीमा भएका समस्याका कारण भौतिक, सामाजिक, सांस्कृतिक वातावरणमा साथै सञ्चारसमेतमा अवरोध सिर्जना हुँदा दैनिक क्रियाकलाप सामान्य रूपमा सञ्चालन गर्न र सामाजिक जीवनमा पूर्ण रूपले सहभागी हुन कठिनाइ हुने अवस्था नै अपाङ्गता हो । अपाङ्गतालाई नेपाल सरकारले र अपाङ्गता भएका व्यक्तिका विभिन्न सङ्घसंस्थाले दस प्रकारका हुने भनी स्वीकार गरेका छन्
शारीरिक अपाङ्गता : कुनै व्यक्तिको स्नायु, मांसपेशी र जोर्नी तथा हड्डीको बनावट एवं सञ्चालनमा समस्या भएको कारणबाट समस्यायुक्त अङ्गको सञ्चालन प्रयोग र हिँडडुलमा समस्या हुनु शारीरिक अपाङ्गता हो र यसका विभिन्न तह र प्रकारहरू हुन्छन् ।
दृष्टिसम्बन्धी अपाङ्गता : कुनै वस्तुको प्रतिविम्ब, अँध्यारो वा उज्यालो प्रकाशप्रति कुनै प्रतिक्रिया जनाउन वा छुट्याउन नसक्ने अवस्था साथै औषधी, शल्यचिकित्सा, चस्मा वा लेन्सको प्रयोगबाट दुवै आँखाले हातको औँला १० फिटको दुरीबाट छुट्याउन नसक्ने वा स्नेलेन चार्टको पहिलो लाइनको अक्षर पढ्न नसक्ने अवस्था हुनु दृष्टिसम्बन्धी अपाङ्गता हो र यसका विभिन्न तह हुन्छन् ।
सुनाइसम्बन्धी अपाङ्गता : सुनाइ अङ्गको बनावटका कारण स्वरको पहिचान, उतारचढाव तथा स्वरको मात्रा र गुण छुट्याउन नसक्ने अवस्था भई ८० डेसिबलभन्दा माथिको ध्वनि सुन्न नसक्ने वा सञ्चारका लागि साङ्केतिक भाषा प्रयोग गर्नुपर्ने व्यक्ति साथै ६५ देखि ८० डेसिबलसम्मको ध्वनि सुन्न सक्ने तर सुन्नलाई सहज बनाउन श्रवण यन्त्र राख्नुपर्ने व्यक्तिलाई सुनाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति भनिन्छ ।
श्रवण दृष्टिविहीन अपाङ्गता : सुनाइसम्बन्धी र दृष्टिसम्बन्धी दुवै अवस्थामा कमजोरी भएका वा यी दुवै इन्द्रीयसम्बन्धी संयुक्त समस्या रहेको अपाङ्गता श्रवण दृष्टिविहीन हो र यस अपाङ्गताका विभिन्न तह हुन्छन् ।
स्वर र बोलाइसम्बन्धी अपाङ्गता : स्वर र बोलाइसम्बन्धी अपाङ्गतामा उत्पन्न कार्यगत सीमितताका कारण तथा बोल्दा स्वरको उतारचढावमा कठिनाइ भई बोली स्पष्ट नहुने, बोल्दा शब्द वा अक्षर दोहो¥याउने जस्तो अवस्थालाई स्वर बोलाइसम्बन्धी अपाङ्गता भनिन्छ र यसका विभिन्न तह हुन्छन् ।
मानसिक वा मनोसामाजिक अपाङ्गता : मस्तिष्क र मानसिक अङ्गमा आएको समस्या तथा सचेतना, अभिमुखीकरण, स्फूर्ति, स्मरणशक्ति, भाषा, गणना जस्ता बौद्धिक कार्यसम्पादनका सन्दर्भमा आउने समस्याको कारणले उमेर र परिस्थिति अनुसार व्यवहार गर्न समस्या हुने अवस्थाका व्यक्ति मानसिक वा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिका रूपमा चिनिन्छन् र यस अपाङ्गताका विभिन्न तहहरू हुन्छन् ।
बौद्धिक अपाङ्गता : उमेरको वृद्धिसँगै बौद्धिक सचेतनाको विकास हुन नसकी बौद्धिक विकास नभएका कारणले उमेर वा वातावरणमा सापेक्ष क्रियाकलाप गर्न समस्या वा कठिनाइ हुने अवस्थाका व्यक्तिलाई बौद्धिक अपाङ्गता भएका व्यक्ति भन्ने गरिन्छ र यसका विभिन्न तह हुन्छन् ।
आनुवंशिक रक्तस्राव हेमोफिलियासम्बन्धी अपाङ्गता : आनुवंशीय असरका कारण रगतमा हुने फ्याक्टरमा विचलन आई रगत जम्ने कार्यमा समस्या हुने शारीरिक अवस्था र सोसम्बन्धी अपाङ्गता यस अन्तर्गत पर्छ ।
अटिजम : जन्मजात नसा वा तन्तुको विकास र त्यससम्बन्धी कार्यमा समस्या भई एकोहोरो हुने, अरूसँग घुलमिल हुन नसक्ने र सिकाइमा कठिनाइ हुने व्यक्तिलाई अटिजमसम्बन्धी अपाङ्गता भएका व्यक्ति भनिन्छ र यसका विभिन्न तह हुन्छन् ।
बहुअपाङ्गता : जो कोही एक व्यक्तिमा दुई वा दुईभन्दा बढी प्रकारका अपाङ्गता मिश्रित भएको पाइन्छ त्यस्ता अवस्थालाई बहुअपाङ्गता भनिन्छ । हामीले हाम्रै घरपरिवार छरछिमेक समाज, सार्वजनिक स्थल वा कहीँ कतै विभिन्न उमेर समूहका त्यस्ता व्यक्ति देखेका हुन्छौँ, जसले सुनेर गर्नुपर्ने प्रतिक्रियालाई इसारा वा अन्य हाउभाउ हेरेर मात्र बुझ्ने कोसिस गर्दै इसारामा नै अभिव्यक्ति दिइरहेका हुन्छन् । बोलिरहेका मानिसप्रति एकोहोरिएर हेरिरहेका वा कान दिइरहेका हुन्छन् । कोही श्रवण यन्त्र प्रयोग गरेर सुनाइ कार्यलाई सहज बनाउने गरेका पनि देख्ने भेट्ने गर्छौं ।
यस प्रकारका विशेषता भएका व्यक्तिहरूलाई सुनाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति भनेर बुझ्नु पर्छ । सुनाइसम्बन्धी अपाङ्गताको विभिन्न तहगत अवस्था छन् जस्तै ः पटक्कै नसुन्नु र सुनाइको तीव्रतामा क्रमशः कम हुनु इत्यादि । यस आधारमा सुनाइ अपाङ्गतालाई बहिरा र सुस्तश्रवण भनेर दुई वर्गमा वर्गीकरण गरिएको छ ।
माथि वर्गीकरण गरिएको नं. ३. अनुसारको सुनाइसम्बन्धी अपाङ्गताका सम्बन्धमा यस प्रकार स्पष्ट हुन सकिन्छ । जो पटक्कै सुन्दैन वा चिकित्सकीय परीक्षण गर्दा ८० डेसिबलभन्दा माथिको आवाज सुन्न सक्दैनन्, त्यस्ता व्यक्तिलाई बहिरा व्यक्ति भनिन्छ । अर्काथरी व्यक्ति जो श्रवणयन्त्र प्रयोग गर्छन्, ठुलो आवाजमा बोलेकोमा सही प्रतिक्रिया जनाउँछन्, कोही वक्ताको मुखाकृति हेरेर सामान्यतया प्रतिक्रिया दिने वा अस्पष्ट आवाजमा प्रतिक्रिया दिने गर्छन् त्यस्ता व्यक्तिलाई सुस्त श्रवण भनिन्छ । यस्ता व्यक्ति २६ देखि ८० डेसिबलसम्मको ध्वनि सुन्न सक्छन् । श्रवण क्षमताका आधारमा सुस्तश्रवणलाई तीन तहमा बुझ्ने गरिएको छ, जस्तै ः १. चिकित्सकीय परीक्षणमा २६ देखि ४० डेसिबलसम्म सुनाइ क्षमता हुनेलाई हल्का सुस्त श्रवण भनिन्छ । ४१ देखि ६० डेसिबलसम्म सुनाई क्षमता हुनेलाई मध्यम सुस्त श्रवण भनिन्छ र त्यसभन्दा माथि ८० डेसिबलसम्म सुनाइ क्षमता हुनेलाई तीव्र सुस्तश्रवण भन्ने गरिन्छ । उल्लिखित तथ्यहरूका आधारमा सुनाइसम्बन्धी अपाङ्गतालाई हामीले बहिरा व्यक्ति र सुस्त श्रवणको भनी दुई फरक गुण विशेषतालाई पहिचान गरेर जुन शब्द उपयुक्त हुन्छ त्यही शब्दले गरिने सम्बोधन गर्नु सम्मान सूचक हुन्छ ।
सुस्त श्रवण र बहिरा व्यक्तिको भिन्नतागत पहिचान गर्न सजिलै सकिन्छ । सुस्त श्रवण भएका व्यक्ति साङ्केतिक भाषाभन्दा सुनाइ सहज हुने विविध विधि र उपकरण प्रयोग गरेर सकेसम्म भोलि भाषामा कुराकानी गर्न रुचाउँछन् र साङ्केतिक भाषालाई कम रुचाउँछन् । उनीहरू दोभासेभन्दा पनि लेख्य भाषामा क्याप्सन हेरेर वा पढेर बुझ्न चाहन्छन् । तीक्ष्ण बुद्धिका सुस्तश्रवणको लेख्य भाषा व्याकरण अनुसार प्रायः मिलेको वा कम त्रुटिपूर्ण हुन्छ ।
सुस्त श्रवणले आवाज आएको तर्फ गहिरो गरी ध्यान दिएकोबाट सजिलै पहिचान गर्न सकिन्छ । बहिरा व्यक्ति आवाज वा बोली भाषालाई निषेध गर्छन् किनभने उनीहरूलाई आवाजले कुनै प्रभाव पार्दैन त्यसैले उनीहरू पूर्ण रूपमा साङ्केतिक भाषा र बहिरा संस्कृति अनुसारको सञ्चार गर्न रुचाउँछन् । उनीहरूलाई साङ्केतिक भाषाका दोभाषेको सहयोग चहिन्छ । बहिराहरूको लेख्य भाषा व्याकरणगत हिसाबले केही त्रुटिपूर्ण हुने गर्छ ।
सुनाइ अपाङ्गताको विषयमा जहाँसम्म भ्रमको प्रश्न त्यो ठुलै ओहदाका कलमजीवीदेखि बुद्धिजीवीसम्म शब्दको प्रयोगमा अलमलिएको अनि अरू प्रकारको बौद्धिक र मनोसामाजिक अपाङ्गतालाई पनि सुस्त श्रवण वा सुस्त मनस्थिति भएको जस्ता मौखिक र लिखित अभिव्यक्ति दिने गरेको पाइन्छ । अपाङ्गताको क्षेत्रमा केही रमरम जानकारी भएको तर स्पष्ट पहिचान गरी त्यसलाई कुन शब्दले प्रयोग गर्दा आदरसूचक हुने वा अनादर हुने भन्ने द्विविधाले भ्रामक अवस्थामा तरङ्गिएका आमव्यक्ति विशेष पाइन्छन् ।
इसाराको भाषा वा साङ्केतिक भाषा कुनै नाटकीय प्रहसनको मजाक होइन बरु संसारभरि मान्यता पाउँदै आएको सुनाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिको प्राथमिक वा मातृभाषा हो । साक्षर, शिक्षित बहिराले औपचारिक र शिष्ट साङ्केतिक भाषाका साथ बहिरा संस्कृति अनुरूपको भाषा प्रयोग गर्छन् भने अशिक्षित बहिराले प्राकृतिक वा स्वाभाविक हाउभाउजन्य इसाराको प्रयोगका साथ बहिरा संस्कृति अनुरूपको साङ्केतिक भाषा प्रयोग गर्छन् । यसरी साङ्केतिक भाषा प्रयोग गर्ने व्यक्तिलाई सुनाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति भन्नु आदरसूचक शब्द हुन्छ ।