विगत केही हप्तादेखि भाइरल सङ्क्रमण र ज्वरोको प्रकोप बढेको छ । ज्वरो, रुघाखोकी नभएका घर भेटिन गाह्रो छ । प्रकोपका बेला अस्पतालका बहिरङ्ग विभागमा ५० प्रतिशतभन्दा बढी तथा अन्तरङ्गमा २५ प्रतिशतसम्म बिरामी देखिने गरेका छन् । हाल गाउँघर तथा सहरबजारमा देखिएका ज्वरोका बिरामी एक सातामै निको हुने तथा एकै पटक धेरै जनामा देखिएकाले विषाणुको सङ्क्रमणद्वारा उत्पन्न हुने रुघाखोकी, ज्वरोको कारण भाइरल हुन सक्छ । सबैले कुनै न कुनै समयमा, उमेरमा शरीरको तापक्रम बढेको, रुघाखोकी लागेको र ज्वरो आएको तथा भाइरल सङ्क्रमणको महसुस गरेका छन् ।
ज्वरो एकै प्रकारको देखिए पनि कारण अनुसार ज्वरो फरक फरक हुने गर्छ । कुनै ज्वरो आफैँ सन्चो हुन्छ भने कुनै औषधीले पनि नछोएर अस्पताल भर्ना हुनु पर्छ । शरीरको तापक्रम सामान्यतः ९८.६ डिग्री फरेनहाइटभन्दा बढी भएमा ज्वरो आएको मानिन्छ । ज्वरो सङ्क्रामक रोगको प्रमुख लक्षण हो ।
ज्वरो कसरी आउँछ ?
इन्टरल्युकिन–१, ट्युमर नेक्रोसिस फ्याक्टर (टिएनएफ), इन्टरफेरोन जस्ता पाइरोजेन जसरी निस्किए पनि हाइपोथालामसलाई उत्तेजना गरी प्रोस्टाग्लन्डिनद्वारा शरीरको तापक्रम वृद्धि गराई ज्वरो निकाल्छ । ज्वरो कि त मस्तिष्ककै खराबीले वा तापक्रम नियन्त्रक केन्द्र (हाइपोथालामस) मा उत्तेजना पैदा भएमा आउने गर्छ ।
ज्वरो आउने विभिन्न कारण भए जस्तै ज्वरो आउने तरिका, ज्वरोको प्रकृति, समय, त्यसको गम्भीरता आदिमा फरक फरक हुन्छ । पाइरोजेन विभिन्न किसिमका क्यान्सर, कनेक्टिभ टिस्यु डिसअर्डर, औषधी, चोटपटक, ब्याक्टेरिया, भाइरस, फगङ्स, प्रोटोजोवा र परजीवीका कारण शरीरभित्रै उत्पादन हुने गर्छ । सङ्क्रमणले शरीरको कोसिकामा पाइरोजेन उत्पन्न गराई मस्तिष्कस्थित ताप नियन्त्रण केन्द्र हाइपोथेलमसमा खराब ल्याई ज्वरोको अनुभव हुन्छ । शरीरको जैविक प्रक्रिया तीव्र गति बनाई ज्वरोले रोगका कीटाणु समाप्त गर्न सहयोग गरिरहेको हुन्छ । लामो समयसम्म ज्वरो रहँदा शरीरको भित्री खण्डको तापक्रममा वृद्धि भई पानीको कमी हुन्छ । जसले रगत र मूत्रनलीका कोषिका खुम्चिन थाल्छन् र कोषिकाको प्रोटिन कम हुन थाल्छ ।
कारण
ज्वरो आफैँमा कुनै रोग नभई यो त अरू कुनै खास रोग वा शरीरमा आउन लागेको अस्वाभाविक परिस्थितिको लक्षण हो । ९५ प्रतिशतसम्म ज्वरोका कारण पत्ता लाग्ने गरेका छन् भने पाँच प्रतिशत जतिमा कारण थाहा हुन सक्दैन । शरीरमा कुनै बाहिरी धक्का, चोटपटक, जीवाणु वा परजीवीका आक्रमणबाट ज्वरो आउँछ । सापेक्षित आद्रता र तापक्रम बढी हुने ठाउँमा परजीवी धेरै हुने भएकाले खाँदा, पिउँदा, सास फेर्दा र अन्य संसर्गबाट शरीरभित्र पस्छन् । उक्त परजीवी सडेगलेका चिज, फोहोर वातावरण एवं भाँडाकुँडामा तयार पारिएका, खाएका र राखिएका खानेकुरा प्रदूषित खाना तथा पानी आदिको माध्यमबाट शरीरभित्र जान्छन् । त्यस्ता परजीवी आँखाले देख्न सकिने जुका, नाम्ले किरादेखि देख्न नसकिने ब्याक्टेरिया, भाइरस इत्यादि हुन्छन् ।
प्रायः ज्वरो छोटो अवधि (दुई हप्ताभन्दा कम समयसम्म आउने) का हुने गर्छन् जुन प्रमुखतया ब्याक्टेरिया, भाइरस तथा परजीवी आदिको सङ्क्रमणले हुने गर्छ । लामो समयसम्म अर्थात् दुई हप्ताभन्दा बढी समयसम्म आउने ज्वरोको रोग निदान गर्न भने अप्ठ्यारो पर्छ । भाइरलमा भने बढीमा दुई हप्तासम्म मात्र ज्वरो देखिन्छ ।
लक्षण
सामान्य भाषामा इन्फ्लुएन्जा वा फ्लु रोगलाई भाइरल ज्वरो भनेर पनि चिनिन्छ । एक्कासि प्रारम्भ हुने ज्वरो, श्वासप्रश्वास सङ्क्रमणका लक्षण, पानी जस्तो सिँगान बग्ने, सुक्खा खोकी लाग्ने र कहिलेकाहीँ पखाला लाग्ने, जिउ तथा टाउको दुख्ने लक्षण देखा परेमा त्यसलाई भाइरल इन्फ्लुएन्जा भनिन्छ । प्रायः कडा घाम र पानी पर्ने मौसममा प्रकोपका रूपमा आउने भएकाले मौसमी इन्फ्लुएन्जा भनिन्छ । ज्वरो सामान्यतया तीनदेखि सात दिनसम्म रहन्छ । छोटो समयमा एउटै ठाउँमा धेरैलाई सङ्क्रमण वा ज्वरो हुन्छ । विभिन्न भाइरसका कारण देखिने ज्वरो सुरुमा धेरै हदसम्म मिल्दाजुल्दा हुन्छन् र निदानका लागि प्रयोगशालामा भर पर्नु पर्छ ।
परजीवीले शरीरका अङ्गलाई असर गर्नुअघि मानिसको शरीरको प्रतिरक्षा संयन्त्रले नियन्त्रण गर्ने कोसिस गर्छ । शरीर बलियो भए शरीरको जित भई रोग लाग्दैन भने शरीर कमजोर भए जीवाणुले जित्छन् र रोगका लक्षण देखिन सुरु हुन्छ । तसर्थ कुपोषण भएका, क्यान्सर, टिबी जस्ता कडा रोगका औषधी खाइरहेका, कलेजो र मिर्गौलाका बिरामीलगायत रोगको प्रतिरोधात्मक क्षमता घटाउँदै लैजाने एचआइभी एड्स भएका मानिसको प्रतिरोध क्षमता कमजोर हुने भएकाले जीवाणुले आक्रमण गर्नासाथ रोग लाग्ने सम्भावना बढी हुन्छ ।
जाँचपडताल
ज्वरोको प्रकार, सुरुवात, प्रकृति, आउने जाने समय, गम्भीरता, बिरामीको आगमन स्थान, जनावरसँगको संसर्ग, कति लामो समयसम्म इत्यादि सम्पूर्ण कारणको विस्तृत जानकारी लिएर ज्वरोका साथसाथै अन्य लक्षण भए/नभएको, औषधी लिए/नलिएको सोधपुछ गरी शारीरिक परीक्षण गरिन्छ ।
ज्वरो नाप्न मुख्यतया मुख वा काखीमा थर्मोमिटर राखेर लिइन्छ । थर्मोमिटरलाई साबुनपानीले वा अल्कोहलले पुछेर मात्र मुखमा वा काखीमा राख्नु पर्छ । शरीरको तापक्रम शरीरका विभिन्न स्थानमा क्लिनिकल थर्मोमिटर राखेर नाप्ने गरिन्छ । तापक्रम नाप्दा बुढाबुढी, बेहोस र अचेत अवस्थामा मलद्वारमा, सामान्य वयस्कमा मुखमा वा काखीमुनि, बच्चामा मलद्वार, तिघ्रा र पेटबिचको गहिरो भाग काछमा थर्मोमिटर राखी नापिन्छ ।
ज्वरो आउँदा राम्रो भेन्टिलेसन भएको चिसो, खुला र ताजा हावा आउने कोठामा बिरामी राख्नु पर्छ । अनावश्यक बाक्लो लुगा हटाई खुकुलो, सुतीको लुगा लगाइदिनु पर्छ । आवश्यक परे ब्ल्याङ्केट प्रयोग गरे पनि बेर्नु हुँदैन । शरीरलाई बिस्तारै मालिस गर्ने, टाउको तथा निधारमा चिसो पानी राखी ज्वरो घटाउन सकिन्छ । मनतातो स्वच्छ पानीले तौलिया भिजाएर शरीर, पैताला र हत्केला पुछिदिनु पर्छ । रोगीलाई प्रशस्त मात्रामा क्यालोरी र तरल पदार्थ, झोल, सुप, फलफूलको रस, ग्लुकोज पानी, जाउलो, भातको माड पटक पटक दिनु पर्छ । सजिलै पच्ने जाउलो, साबुदाना, दुध, रोटी, ब्रेड खान दिनु पर्छ । सानो बच्चा भए कुपोषण हुन नदिन पोषणयुक्त खाद्य पदार्थ र आमाको दुध खुवाउनु पर्छ । धेरै चिसो कोठामा नराख्ने, गर्मी हुने भोजन नगराउने र धेरै समयसम्म चर्को घाममा नबसाउने गर्नु पर्छ । ज्वरो कम गर्न एस्प्रिन नदिई पारासिटामोल दिनु पर्छ । पारासिटामोल खुवाउँदा ठिक नभएर पानीपट्टी दिनु परे औषधी खुवाएको २५–३५ मिनेटपछि मात्र पानीपट्टी दिन सकिन्छ ।
अन्त्यमा हालको भाइरल गम्भीर खालको नभए पनि सजग भने रहन जरुरी छ । चिसो तथा चिसो खाद्य पदार्थबाट बच्ने, पानी उमालेर मात्र पिउने, आराम, झोलिलो पदार्थ तथा मनतातो पानी सेवन अनिवार्य छ । भेटघाटका बेला हात नमिलाई नमस्कार गर्नु पर्छ । खोक्दा, हाच्छिउँ गर्दा, हाई काढ्दा सधैँ रुमालले मुख तथा नाक छोप्ने यदि रुमाल नभए पाखुराले नाक, मुख छोप्ने गर्नु पर्छ । साबुनपानीले दैनिक चार/पाँच पटक हात धुने, सम्भव नभए दुई हातलाई आपसमा मज्जाले रगड्ने गर्दा पनि सङ्क्रमणबाट बच्न सकिन्छ ।
सङ्क्रमित व्यक्तिको शरीरमा भएको तरल पदार्थबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग भएकाले थुक, र्याल, सिँगानका ससाना कणमा भाइरस नजिकै बसेको मानिसले सास फेर्दा, हात मिलाउँदा, अङ्कमाल र चुम्बन गर्दा सर्ने भएकाले भिडभाडमा नगई बिरामीबाट कम से कम एक मिटरको दुरीमा बस्ने र माउथ मास्क लगाउने गर्नु पर्छ ।
ज्वरोसँगै बान्ता भयो, बेस्सरी टाउको दुख्यो, सास फेर्न कठिन तथा चाँडो चाँडो सास फेर्ने, ओठ र अनुहार निलो, खोकीमा रगत, बोल्न नसक्ने, छाती बेस्सरी दुख्ने, कम्पन हुने, राम्रो भई फेरि रोगले च्याप्ने र बेसुरको भए तुरुन्तै चिकित्सक तथा अस्पतालमा पुर्याउनु पर्छ ।