फडिन्द्र अधिकारी
लेखनाथ, चैत १७ गते। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्र ठूलो त्याग, समर्पण र योगदानपछि संस्थागत बनेको जनाउँदै अबको विकल्प यसकै विकास भएको बताउनुभएको छ। आइतबार गण्डकी प्रदेशसभाको मुख्यमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको छ।
गणतन्त्रबादी दल सबै जागरुक र चनाखो बन्नुपर्नेमा जोड दिँदै उहाँले समृद्ध नेपालको सपनाबाट यताउती हुने छुट नभएको उल्लेख गर्नुभयो। “सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन गर्न जो जो मिलेर बनायौं, त्यसलाई कार्यान्वयन गर्न हामी प्रतिवद्ध छौं,” उहाँले भन्नुभयो, “हामी जिउँदै रहेको अवस्थामा कसैलाई लाग्छ हामी राजतन्त्र ल्याउँछौँ भन्ने भने त्यो दिवास्पन हो, कदापि पूरा हुन सक्दैन।”
मुख्यमन्त्री पाण्डेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अहिलेको निर्मल निवासमा बस्न पाइन्छ कि पाइँदैन भनेर सोच्न बाध्य हुने अवस्था आउन सक्ने औंल्याउनुभयो। संघीयताको पक्षमा उठेका असन्तुष्टिका स्वरलाई लिएर संविधान उल्टाउने चेष्टा नगर्न उहाँले चेतावनी दिनुभयो।
उहाँले सर्वोच्च अदालतको फैसला बमोजिम फेवातालको सीमाङ्कन सकिन लागेको जानकारी दिनुभयो। प्रदेशसभा सदस्य प्रकाश बरालले सोधेको प्रश्नको जवाफमा उहाँले तालको मापदण्डभित्रका संरचना हटाउँदा अर्बौं मुआब्जा दिनुपर्ने देखिएको जनाउँदै तीन तहकै सरकारबिच सहकार्यबिना यो सम्भव नहुने प्रष्ट पार्नुभयो।
सांसद द्रोण कुँरले बागुलङको उत्तरगंगा जलविद्युत परियोजनाबारे सोधेको प्रश्नमा मुख्यमन्त्री पाण्डेले प्रदेशसभा नियमावली स्मरण गर्दै मुख्यमन्त्रीको कार्यक्षेत्रभित्रका विषयमा मात्र प्रश्न सोध्न आग्रह गर्नुभयो।
प्रदेशसभा नियमावलीको नियम ५६ बमोजिम सातौँ अधिवेशनको १३ औं बैठकमा मुख्यमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम भएको हो। मुख्यमन्त्रीलाई १३ जना संसदले प्रश्न टिपाउनुभएको थियो। प्रदेशसभा नियमावलीमा एक पटकमा बढीमा १० जना सांसदको मात्र प्रश्नको उत्तर दिने व्यवस्था छ। प्रदेशसभा सचिवालयका उपसचिव प्रेम सुवेदीले आइतबार मुख्यमन्त्री पाण्डेले पहिला प्रश्न दर्ता गराउने १० सांसदका प्रश्नको उत्तर दिएको र बाँकी प्रश्नको उत्तर अर्काे महिना दिने उल्लेख गर्नुभयो। नियमावलीमा संसद चलेका बेला हरेक महिलाको पहिलो हप्ता समामुखले तोकेको दिन मुख्यमन्त्रीसँग प्रश्नोत्तर हुने व्यवस्था छ।
आइतबारबारको बैठकमा विशेष समय माग गरी एमाले संसदीय दलका नेता खगराज अधिकारीले सम्बोधन गर्नुभयो। पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका अधिकारीले चैत १५ गते राजधानीमा भएको घटनालाई गणतन्त्रमाथिको बर्बर आक्रमणको संज्ञा दिनुभयो। उहाँले नेताहरुको जीवनशैली, कार्यशैली, कार्यपद्धतिमा सुधार्नुपर्ने पक्षहरु सुधार्दै अघि बढ्ने तर पुरानो व्यवस्था फर्काउन असम्भव रहेको उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, “पुरानो तन्त्र फर्काउन चाहन्छु भन्ने सपना कसैले देखेको छ भने सिङ्गो प्रदेशसभा भन्छः तीनका सपना चकनाचुर हुन्छन्, हामी अघि बढ्छौँ।” बैठकमा स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकी प्रदेशमा जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश गर्नुभयो। यस्तै, उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक सभामा पेश गर्नुभयो। दुवै विधेयकमाथि सोमबार सैद्धान्तिक छलफल हुनेछ।
बैठकमा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री माननीय फणीन्द्र देवकोटाले गण्डकी प्रदेशमा विद्युत विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव पेश गर्नुभयो। सभाले मन्त्री देवकोटाको प्रस्ताव पारित गरेको छ।