मुक्तिनाथ समाचारदाता
मुक्तिनाथ (मुस्ताङ), चैत १७ गते । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा शनिबार चैत्र कृष्ण औँसीको तिथीमा पितृ तर्पण गर्नेको थामिनसक्नु भिड लागेको थियो । बेनी–जोमसोम सडकखण्ड हुँदै शुक्रबार र शनिबार बिहान कागबेनीमा पुगेका तीर्थालुले दिवङ्गत पितृको नाममा श्राद्ध, तर्पण र पिण्डदान गरेको कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समितिले जनाएको छ ।
सडक सञ्जाल र हवाईमार्ग हुँदै पुगेका तीर्थालुले कागबेनीमा स्नान गरी मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किएको वडा नं. ४ का वडाध्यक्ष कर्म घ्यचो गुरुङले बताउनुभयो । वडाध्यक्ष गुरुङले भन्नुभयो, “यस पटक विगतमा भन्दा धेरै भक्तजनको आगमन भएको छ । भक्तजनलाई त्रिवेणीधाममा सहज रूपमा पूजाआजाको व्यवस्थापन गरिएको थियो ।”
यस पटक नेपालका विभिन्न जिल्लाका साथै छिमेकी राष्ट्र भारतबाट समेत गरी करिब ३० हजारको हाराहारीमा भक्तजनले कागबेनीमा पूजा गरेको कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी गुरुङले बताउनुभयो । बडादसैँ औँसी तीथिमा कागबेनीमा पुग्न नसक्नेहरू चैतेदसैँ औँसीमा पुग्ने र अन्य समयमा समेत दिवङ्गत पितृको सम्झनामा तर्पण दिने गरिन्छ । कागबेनीमा स्नानपछि सबै मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने गरेको मुक्तिनाथ मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले भन्नुभयो ।
पूजारी सुवेदीका अनुसार विष्णु भगवान्को दर्शन, मूर्तिलाई पूजाआजा, १०८ धारामा स्नान र परिसरमा रहेका दुई वटा पोखरीमा स्नान गरेपछि कुनै पनि पाप गरेमा नष्ट भई पुण्य मिल्ने धार्मिक विश्वास छ । दामोदर कुण्डबाट बगेर आएको काली र मुक्तिनाथका एक सय आठ धाराबाट बगेर आएको गण्डकीको सङ्गम भएकाले यहाँ पुगेर पिण्ड दान गर्दा सबैभन्दा ठुलो फल मिल्ने कुरा शास्त्रमा उल्लेख छ । परापूर्वकालमा काग भुसुण्डे ऋषिले हिमाली तालतलैयामा तपस्या गरी कागखोलामा आएर स्नान गरी पितृका नाममा तर्पण र पिण्ड दिएको हुनाले कागबेनीधाममा पितृ उद्धारका लागि श्राद्ध, तर्पण, पिण्ड आदि दिने चलनको सुरुवात भएको धार्मिक मान्यता छ ।